काठमाडौं । इजरायली अधिकारीहरूले हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको औपचारिक जानकारी दिएका छन्। सोमबार इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र इजरायली सेनाले विपिन जीवित नरहेको सूचना इजरायलस्थित नेपाली दूतावासलाई दिएका हुन्।
दूतावासले सो जानकारी नेपालस्थित परराष्ट्र मन्त्रालयलाई अनौपचारिक रूपमा अवगत गराएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। “जोशी जीवित नरहेको खबर प्राप्त भएपनि, अझै पनि उनी जीवितै होलान् भन्ने आशा छ,” स्रोतले भन्यो।
विपिन जोशीलाई २०८० असोज २३ गते हमासले इजरायलको किबुट्ज आलुमिमबाट अपहरण गरेको थियो। उनी अपहरण भएको केही समयपछि जीवित रहेको प्रमाणस्वरूपको भिडियो केही दिनअघि सार्वजनिक भएको थियो।
हमासले सोमबार आफ्नो कब्जामा रहेका २० जनालाई रेडक्रसका अधिकारीमार्फत् इजरायललाई बुझाउने तयारी गरेको छ। तर ती सूचीमा विपिनको नाम नरहेको इजरायली अधिकारीहरूले जनाएका छन्।
विपिन आक्रमण हुनुभन्दा करिब एक महिनाअघि मात्र कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी भएर नेपालबाट इजरायल पुगेका थिए। गाजाको सीमाक्षेत्रमा रहेको किबुट्ज आलुमिममा कार्यरत उनीसहित १७ जना नेपाली विद्यार्थीमध्येको समूहमाथि गत वर्ष असोजमा हमासले आक्रमण गरेको थियो।
उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। उनीहरू बम आश्रयमा लुकेका बेला हमासले फ्याँकेका ग्रेनेडहरूका कारण विपिन घाइते भएका र त्यसपछि अपहरणमा परेका थिए।










