काठमाडौं । दुई साताअघि डिल्लीबजार कारागारबाट छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत १५ गते काठमाडौंको तीनकुने घटनाबारे सोमबार पत्रकार सम्मेलनमार्फत पहिलोपटक स्पष्ट टिप्पणी गरेका छन्।
प्रसाईंले घटनाक्रममा आफू गाडी चलाउँदै प्रहरीकै अगाडि पुगेको र मार्ने योजना भए पनि सुरक्षा कारणले प्रहरीको संरक्षणमा प्रवेश गरेको बताए। उनले भने, “त्यसपछि मलाई एकजना डीएसपी साबले आएर, तपाईंले जे गर्नुभयो ठिक गर्नुभयो, अब गएर कार्यक्रम सकेर निस्कनुस् भन्नुभयो।”
उक्त अवसरमा प्रसाईंले मञ्चमा पुगेर प्रहरी र आफ्ना समर्थकलाई संयमित रहन आग्रह गरेको र प्रहरीसँग धक्कामुक्का नगर्न समेत अनुरोध गरेको बताए।
सिभिल पोशाकधारी प्रहरीले आफूलाई मार्ने योजना रहेको जानकारी दिएपछि उनले काठमाडौं छाडेर सुरक्षित ठाउँतर्फ गएका थिए। उनले मदन भण्डारीलाई जस्तै आफूलाई पनि मार्ने योजना रहेको भए पनि त्यसलाई सफल हुन नदिएको दाबी गरे।










