काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको छ।
नर्दन टेरिटोरीले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाएको हो। नेपालका लागि कुशल मल्ल ३४, कुल्शनकुमार झाले २६, र कप्तान रोहितकुमार पौडेल २३ रन बनाए।
नर्दनका लागि म्याट ह्यामन्डले ३ विकेट, केन रिचार्डसन र टम एन्ड्र्यूजले २–२ विकेट लिए।
पहिले ब्याटिङ गरेको नर्दन टेरिटोरीले ८ विकेट गुमाएर १७७ रन बनाएको थियो। ओपनर डासी शर्टले ५१ रन, टम एन्ड्र्यूजले ३२ रन बनाए। नेपालका लागि सन्दीप लामिछानेले ३, शाहब आलमले २, र रुपेशकुमार सिंह, दीपेन्द्रसिंह ऐरी, कुल्शनकुमार झाले समान १–१ विकेट लिए।
नेपालले आगामी खेलमा भोलि बङ्गलादेश ‘ए’, भदौ २ गते मेलबर्न स्टार्स, भदौ ३ गते होबर्ट हुरिकेन्स, भदौ ४ गते मेलबर्न रेनेगाड्र्स, र भदौ ६ गते पाकिस्तान साहिन्ससँग प्रतिस्पर्धा गर्नेछ। यी प्रतियोगिताहरू आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप आयोजना गरिएको हो।











