काठमाडौं । वरिष्ठ कार्डियाक सर्जन डा. रामेश कोइरालाले चिकित्सा पेशासँगै देश छोडेर अमेरिका प्रस्थान गरेका छन्। बुधबार बिहान उनले सामाजिक सञ्जालमा “देश, पेसा, जीवन र भूमिका सबै अब फरक” लेख्दै परिवारसँगको तस्वीर पोस्ट गरेका छन्।
कोइराला लामो समयदेखि गंगालाल हृदयरोग केन्द्रमा कार्यरत थिए र देशकै शीर्ष मुटुरोग विशेषज्ञ मानिन्थे। उनले गंगालाल केन्द्रको डाइरेक्टर बन्ने चाहना राखे पनि, कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणा देउवाको असहमतिका कारण नियुक्ति पाउन सकेनन्।
स्वास्थ्यमन्त्री प्रदीप पौडेल हुँदा पनि उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति बन्न नसकेपछि विदेश लागेका हुन्। यसअघि उनीले एलएलएम गरेका थिए र अमेरिका पुगेर कानुन व्यवसायीको रूपमा अभ्यास गर्ने तयारी गरेका छन्।
स्वास्थ्यमन्त्री पौडेलको नेतृत्वमा बनेको उपकुलपति सिफारिस समितिले असार ४ गते आवेदन आह्वान गर्दा चारवटा प्रतिष्ठानमा ५५ जनाले दाबी पेश गरेका थिए। समितिका अन्य सदस्यमा स्वास्थ्य सचिव डा. विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा थिए।
सरकारले मगलबार चारवटा स्वास्थ्य प्रतिष्ठानको उपकुलपति नियुक्त गर्दा कांग्रेसको भागमा परेको बीपी प्रतिष्ठान धरानमा प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. भरतबहादुर खत्री नियुक्त भएका छन्।














