सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ मा बसोबास गर्दै आएका एकै परिवारका १६ जना सदस्य एकैपटक बेपत्ता भएका छन्। घटनापछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले खोजतलास सुरु गरेको छ।
उर्मिला हायुको परिवार सोमबार बिहानदेखि सम्पर्कविहीन भएपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए। उक्त परिवार छेत्पा नजिकको भण्डास विप्पर कटेरी भन्ने स्थानमा बस्दै आएको बताइएको छ।
प्राप्त सूचनाको आधारमा प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ। जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार, हायुको घरमा सामान्य क्षति देखिएको छ भने कुखुरा, बाख्रा र भैंसीजस्ता पशुचौपाया अलपत्र अवस्थामा भेटिएका छन्।
“सूचना पाउनासाथ हाम्रो टोली तत्काल घरमा पुगेको थियो,” सुवेदीले भने, “तर घरमा कोही पनि थिएनन्। पशुचौपाया छाडिएको अवस्थामा थिए।”
हाल प्रहरीले स्थानीय जनप्रतिनिधि र गाउँलेहरूसँग समन्वय गरी परिवारको अवस्थाबारे बुझ्ने काम गरिरहेको छ। यद्यपि, अहिलेसम्म उनीहरू कहाँ गएका वा किन सम्पर्कविहीन भएका हुन् भन्नेबारे स्पष्ट विवरण नखुलेको प्रहरीले जनाएको छ।












