काठमाडौं । सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आइतबार दिउँसो कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका छन्। कारागारभित्र नाइके चयनको विषयमा विवाद चर्किएपछि दुई समूहबीच झडप भएको सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले काठमाडौँ पठाउने तयारी भइरहेको छ। घटना नियन्त्रणमा रहेको प्रशासनले जनाएको छ।
१५० कैदीबन्दी क्षमताको कारागारमा हाल ४५८ कैदी रहेका छन्। क्षमताभन्दा बढी कैदीका कारण व्यवस्थापनमा समस्या देखिएको छ। शनिबारमात्रै सुरक्षा निकायले संयुक्त अनुगमन गरेको थियो।
यसअघि पनि कारागारभित्र आपराधिक गतिविधिको आरोपमा छानबिन समिति गठन भए पनि प्रतिवेदन अझै सार्वजनिक भएको छैन।












