काठमाडौं । अब क्यान्सरको उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि सरकारले निःशुल्क उपलब्ध गराउने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले —आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा यसबारे औपचारिक जानकारी दिएका हुन्।
मन्त्री पौडेलका अनुसार नेपालमा यस्ता औषधि सहज रूपमा उपलब्ध नहुँदा धेरै बिरामीलाई विदेश गइ महँगो खर्चमा उपचार गर्नुपर्ने बाध्यता थियो। यो समस्या समाधान गर्न अन्तर्राष्ट्रिय च्यारिटी संस्था डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधि पाँच वर्षसम्म नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
पहिलो खेप नेपाल आइपुग्यो, चार अस्पतालमा वितरण
डाइरेक्ट रिलिफले वन हर्ट वर्ल्डवाइड संस्थामार्फत पहिलो खेप औषधि नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। ती औषधिहरू आजैदेखि देशका चार प्रमुख सरकारी अस्पतालहरू — बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर), भक्तपुर क्यान्सर अस्पताल, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल (बाँके) र वीर अस्पताल (काठमाडौँ) — मा निःशुल्क रूपमा उपलब्ध हुनेछन्।
विपन्नलाई राहत, राज्यको लगानीबिना ठूलो सहुलियत
“क्यान्सरको औषधि महँगो हुँदा विशेषगरी विपन्न नागरिकलाई उपचारमा गाह्रो भएको थियो,” मन्त्री पौडेलले भने, “अब राज्यको लगानीबिना नै ठूलो संख्याका नागरिकलाई राहत दिने प्रयास सफल भएको छ।”
प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार ती औषधिहरू स्तन क्यान्सर, छालाका क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर लगायतका रोगहरूको उपचारमा प्रयोग हुने छन्।
सूची विस्तारको तयारी, संचारमाध्यमलाई सहयोगको आग्रह
मन्त्री पौडेलले यस्ता औषधिको सूची थप गर्ने र अझ धेरै नागरिकलाई राहत पुर्याउने तयारी भइरहेको जानकारी दिए। साथै, सरकारले दिने स्वास्थ्य सुविधा र बीमाबारे नागरिकमा पर्याप्त जानकारी नपुगेकाले संचारमाध्यमहरूलाई यस्ता विषयलाई प्राथमिकताका साथ प्रचार गर्न आग्रह समेत गरे।
स्वास्थ्य मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा. भीम सापकोटाले पाँच वर्षसम्म नेपालका आवश्यकता अनुसार औषधि निरन्तर उपलब्ध गराउने समझदारी भएको बताए। वन हर्ट वर्ल्डवाइडका नेपाल प्रतिनिधि सूर्य भट्टले यो सहयोग मन्त्री पौडेलको विशेष पहलबाट सम्भव भएको भन्दै नेपालका लागि ठूलो उपलब्धि भएको बताए।













