काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले मंगलबार पत्रकार सम्मेलनमार्फत आफ्नो सय दिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्। कार्यक्रममा उनले आफ्नो नेतृत्वमा प्राधिकरणको वास्तविक अवस्था प्रस्ट्याउन ‘श्वेतपत्र’ सार्वजनिक गरिएको जानकारी दिए।
शाक्यका अनुसार श्वेतपत्रले ऊर्जा सुरक्षा, विश्वसनीय विद्युत आपूर्ति, नवीनतम वित्तीय व्यवस्थापन, तथा मानव स्रोत व्यवस्थापनलाई प्राथमिकता दिएको छ।
सय दिनभित्रको मुख्य उपलब्धिका रूपमा उनले धेरै महसुल बुझाउने १० उद्योगीलाई सम्मान गरिएको, जसबाट उद्योगहरूमा विद्युत खपत बढ्ने आशा गरिएको बताए।
यस्तै, डेडिकेटेड लाइनसम्बन्धी विवाद समाधानको प्रक्रिया अघि बढाइएको, इलेक्ट्रिक चार्जिङ स्टेशनका पूर्वाधार निर्माणका लागि १ करोड रुपैयाँ बजेट छुट्याइएको, र ९ सय विपन्न परिवारलाई निःशुल्क मिटर वितरण गरिएको जानकारी दिए। साथै, स्मार्ट मिटरको विस्तार, वितरण प्रणाली सुदृढीकरण, र सबस्टेशन निर्माण सम्पन्न भएको उल्लेख गरे।
बाढीले २५० मेगावाट विद्युत उत्पादन बन्द
शाक्यले चीनतर्फबाट आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरण तथा यसको अधीनमा रहेका विभिन्न जलविद्युत आयोजनाबाट २५० मेगावाट विद्युत उत्पादन बन्द भएको जानकारी दिए।
सबैभन्दा बढी क्षति १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा पुगेको छ। बाँधको एक गेट बगाएको र ड्याममा पनि ठूलो क्षति भएको जनाइएको छ।
त्रिशूली कोरिडोरमा व्यापक असर
बाढीले त्रिशूली कोरिडोर अन्तर्गतका आयोजनामा प्रत्यक्ष प्रभाव पारेको छ।
प्रभावित आयोजनाहरूमा:
रसुवागढी
चिलिमे
माथिल्लो त्रिशूली ‘थ्री ए’
तल्लो त्रिशूली
शाक्यका अनुसार माथिल्लो त्रिशूली ‘थ्री ए’ को ड्याममा दुई गेट बगाएका छन्। ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ र २१ मेगावाटको तल्लो त्रिशूली आयोजना पूर्णरूपमा बन्द छन्। त्रिशूली कोरिडोरमा मात्र करिब ६–७ जलविद्युत प्लान्ट बन्द अवस्थामा छन्।
विद्युत आपूर्तिमा असर नपर्ने
बाढीबाट क्षति पुगे पनि कार्यकारी निर्देशक शाक्यले हालको अवस्थाले देशभर विद्युत आपूर्तिमा तत्काल समस्या नआएको स्पष्ट पारे। उनले जोखिम न्यूनीकरण तथा उत्पादन पुनः सुचारु गर्न तत्काल पहल भइरहेको पनि जानकारी गराए।










