काठमाडौं । भोजपुरमा एकै परिवारका चार सदस्यको निर्मम हत्या भएको छ। भोजपुर नगरपालिका–२ (रामप्रसाद राई गाउँपालिका) निवासी राजेन्द्र राईले आफ्नी श्रीमतीसहित चार जनाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार राईले शनिबार राति करिब १:१५ बजे आफ्नी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासू मञ्जु गिरी र सालो सपन गिरीको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।
हत्या गरी आफैँले प्रहरीलाई खबर गरेका राई गम्भीर घाइते अवस्थामा भेटिएका छन्। उनको पेटमा तीन ठाउँमा धारिलो हतियारको चोट लागेको प्रहरी स्रोतले जनाएको छ। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित अस्पतालमा रेफर गरिएको छ।
पारिवारिक विवादपछि हत्या
छिमेकीका अनुसार १६ वर्षीया मनिषा केही दिनअघि माइती घर आएकी थिइन्। उनलाई लिन राजेन्द्र ससुराली पुगेका थिए। तर, उमेर नपुगेको भन्दै माइती पक्षले मनिषालाई सँगै पठाउन मानेनन्। यही विषयमा विवाद चर्किएको र त्यसपछि घटना भएको आशंका गरिएको छ।
प्रहरीले घटनास्थलको अनुसन्धान जारी राखेको छ भने अभियुक्त राईलाई नियन्त्रणमा लिएको छ। घटनाले सम्पूर्ण गाउँ त्रासमा परेको छ।
घटनाको प्रकृति हेर्दा जघन्य अपराध भएकाले विस्तृत अनुसन्धान आवश्यक रहेको प्रहरीको भनाइ छ। चारै मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर पठाइएको छ।
यस दर्दनाक घटनाले स्थानीयहरूलाई स्तब्ध बनाएको छ भने सामाजिक सञ्जाल र समुदायमा शोक र आक्रोशको लहर फैलिएको छ।












