धनुषा । धनुषाको विदेह नगरपालिका–२ स्थित गोबराही क्षेत्रमा तस्कर समूह र सशस्त्र प्रहरीबीच भएको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्।
गएको राति अबैध सामान ल्याउँदै गरेको सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीमाथि झन्डै डेढ सय जना तस्कर समूहले आक्रमण गरेका थिए। सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीले गोबराही क्षेत्रमा एउटा मोटरसाइकल फेला पारेपछि नजिकैको टहरोमा खोजतलास गर्दा झडप भएको हो।
सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार तस्कर समूहले घरेलु हातहतियारसहित ढुंगामुढा प्रहार गरेका थिए। भिड नियन्त्रण गर्न प्रहरीले १३ राउण्ड ग्यास सेल र ४ राउण्ड हवाई फायर गरेको थियो।
झडपमा घाइते भएका तीन जना प्रहरीको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने अन्यको अवस्था सामान्य रहेको जनाइएको छ।
सशस्त्र प्रहरीले घटनास्थलमा थप अनुसन्धान र निगरानी बढाएको जनाएको छ। तस्कर समूहको पहिचान र कानुनी कारवाहीका लागि खोजी कार्य तीव्र पारिएको छ।












