सिन्धुपाल्चोक। नेपाल–चीन सीमास्थित तातोपानी भन्सार नाकाबाट पहिलोपटक सडकमार्ग हुँदै हेलिकप्टर आयात गरिएको छ। माउन्टेन हेलिकप्टर प्रा.लि.ले फ्रान्सको एयरबस कम्पनीमा निर्मित हेलिकप्टर चीनमार्फत नेपाल भित्र्याएको हो।
चीनको तियाजिन सहरबाट ल्याइएको सो हेलिकप्टर ४० फिटे कन्टेनरमा लोड गरी तातोपानी नाकासम्म सडकमार्ग हुँदै ल्याइएको हो। हेलिकप्टरका पंखालगायतका मुख्य भागहरू खोलिएको अवस्थामा ल्याइएको र अहिले तातोपानी नाकामै जाँचपास र पंखा जडानको काम भइरहेको कम्पनीका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालले जानकारी दिए।
भुसालका अनुसार यसअघि माउन्टेन हेलिकप्टरले एक युनिट हेलिकप्टर कलकत्ताबाट वीरगञ्ज हुँदै काठमाडौं ल्याएको थियो।
तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालका अनुसार तातोपानी नाकाबाट हेलिकप्टर आयात भएको यो पहिलोपटक हो। हेलिकप्टरको भन्सार मूल्यांकनपछि १ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) अनुसार कम्पनीले करिब साढे ४ करोड रुपैयाँ कर तिर्नेछ।
तातोपानी नाकाबाट यस्तो प्रकारको विशिष्ट उपकरण आयातले भविष्यमा यस नाकाको सम्भाव्यता र उपयोगिता अझ बढ्ने देखिएको छ।












