November 3, 2026

सामाजिक शास्त्र सङ्गोष्ठीले निराशालाई चिर्दै आशा र सम्भावनालाई जगाउन सक्नुपर्छ : मन्त्री पाण्डे

सामाजिक शास्त्र सङ्गोष्ठीले निराशालाई चिर्दै आशा र सम्भावनालाई जगाउन सक्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिक शास्त्र विभागको आयोजनामा सामाजिक शास्त्र वार्षिक सङ्गोष्ठी २०८२ सुरु भएको छ । प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पानसमा बत्ती बालेर ’नेपाली समाजका विविधता’विषयक दुई दिने कार्यक्रमको समुद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सामाजिक शास्त्रको खोजअनुसन्धानको क्षेत्रमा प्रशस्त लगानी नभएको बताए । उनले सङ्गोष्ठीमा प्रस्तुत हुने खोजमूलक कार्यपत्रले समस्या मात्रै होइन,निराशालाई चिर्दै आशा जगाउनुपर्ने बताए ।
मन्त्री पाण्डेले समाज अध्ययनको निचोडले सम्भावनालाई औल्याउनुपर्ने बताउँदै छिट्टै सांस्कृतिक नीति सरकारले ल्याउने बताए ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले कार्यक्रमको औचित्यसहित स्वागत मनतव्यका क्रममा समाजका विविध विषयहरूको व्यापकतालाई पर्गेल्नुपर्ने जरुरी ठानेर नै यो कार्यक्रमको आयोजना गर्नुपरेको बताए ।
कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर ,ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छाली र प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य प्रा.दिनेशराज पन्तले उक्त सङ्गोष्ठी सफलताको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका मुख्य वक्ताको रूपमा डा.सुरेश ढकालले गरेका थिए ।

कार्यक्रमका सभाध्यक्ष एवम् प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले सङ्गोष्ठीमा १३वटा कार्यपत्र प्रस्तुत हुने बताइन् । उनले समाजका विविध पक्षलाई सङ्गोष्ठीले केलाउने र सकारात्मक सम्भावना प्रवाह गर्ने उल्लेख गर्दै उद्घाटनसत्रको समापन गरिन् ।

कार्यक्रमको सञ्चालन प्रज्ञा–प्रतिष्ठानका भौतिक संशाधन व्यवस्थापन महाशाखा प्रमुख सन्ध्या पहाडीले गरेकी थिइन् । यसलगतै सौन्दर्यशास्त्री ईश्वरचन्द्र ज्ञवालीले ’समाजवाद र संस्कृतिको विश्लेषण’,प्रा.डा. श्रीधर गौतमले ’वैज्ञानिक समाजवाद र संस्कृति’ प्रा. डा. शम्भुप्रसाद खतिवडाले ’सामाजिक शास्त्र अध्ययनका नयाँ आयामहरू’,डा. उत्तम खनालले ’समाजवाद उन्मुख अर्थतन्त्रको भ्रम र वास्तविकता’ र डा टिकाराम पोखरेलले ’सीमान्तकृत समुदायका सवाल र मानव अधिकार’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । फोकल पर्सनमा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.विष्णुकुमार सिङ्जाली,प्रा.डा.विनोद पोखरेल, प्रा.डा.सुरेन्द्र केसी, डा.केशव सिलवाल र केशव नेपाल रहनुभएको थियोे। कार्यपत्रको सत्राध्यक्ष डा.हेमराज ढकालले गरेका थिए ।

सम्बन्धित खबरहरु

भर्खरै