काठमाडौं । जनसांस्कृतिक महासंघ नेपाल केन्द्रीय समितिले सांस्कृतिक शहीद तथा प्रगतिवादी कवि शहीद कृष्णसेन इच्छुकको २३औँ स्मृतिमा कविता वाचन तथा सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् साहित्य, कला तथा संस्कृति विभाग प्रमुख महेश्वर दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि दाहालले उनीसँग काम गर्ने अवसर पाएका कारणले पनि उनको व्यक्तित्व, विचार र नेतृत्व शैली मेरो स्मृतिमा अझै गहिरो रूपमा बसेको बताए ।
‘कृष्ण सेन भन्ने बित्तिकै एक जना क्रान्तिकारी कवि, एक जना समर्पित पत्रकारको रूपमा सम्झना आउँछ’ भन्दै दाहालले साँच्चै भन्नुपर्दा जनताको पक्षमा कलम चलाउने साहसी योद्धा, नामभन्दा पनि विचार भएको बताए । महान् सांस्कृतिक शहीद कृष्णसेन इच्छुकको २३ औँ स्मृति तथा सांस्कृतिक वलिदान दिवसको आयोजना पेरिसडाँडामा गरिएको थियो ।
प्रमुख अतिथि दाहाल लगायतले एक मिनेट शहीदप्रति मौन धारणा गर्दै इच्छुकको तस्बिरमा माल्यार्पण गरेपछि कार्यक्रमको प्रारम्भ गरिएको थियो । दाहालले ‘कृष्ण सेनको बाँच्ने विकल्प हुँदाहुँदै आफ्नो आदर्शका निम्ति मृत्युवरण गरेको यति चहकिलो उदाहरण विगत पाँच दशकको कम्युनिस्ट आन्दोलनको शक्तिशाली प्रेरणापुञ्ज रहेको’ उल्लेख गरे ।
कार्यक्रमका अतिथि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) का केन्द्रीय सदस्य तथा भाषा आयोगका सदस्य मातृका पोखरेलले इच्छुकको वैचारिक प्रतिबद्धता र कवि व्यक्तित्वको चित्रण गरे ।
कार्यक्रममा इच्छुकद्वारा रचित प्रसिद्ध कविता ‘प्रतिबन्ध’ लाई जनवादी कलाकार झङ्कार बुढा, केसरी घर्ती मगर एलिना , विश्व दोङ,सुशिल सिंह ठकुरी, दीपक राई, पुजा श्रेष्ठ र धनु ग्याङ्मीले सामूहिक रूपमा गाएका थिए ।
यसैगरी प्रगतिवादी कविहरू चेतनाथ धमला, बम बानिया, मिथोच र उत्तम लिम्बूले कृष्ण सेन इच्छुक रचित कविता वाचन गरेका थिए । जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय अध्यक्ष भीम कुमाखीले कार्यक्रमको समापनका क्रममा महान् सांस्कृतिक सहिद इच्छुकको
क्रान्तिकारी चिन्तन ,साहित्यिक व्यक्तित्व,आदर्श र प्रेरणा भावी पुस्तासम्म पुर्याउने गरी प्रशिक्षित गर्नुपर्नेमा जोड दिए । उद्घोषण गर्दै महासङ्घका महासचिव केशव सिलवालले इच्छुक निरंकुशताविरुद्धका योद्धा कवि तथा पत्रकार रहेको बताए । जनदिशा दैनिकको प्रधान सम्पादक भएका बखत तत्कालीन राज्यसत्ताको निर्देशनमा प्रहरीले पक्राउ गरी कृष्ण सेनलाई २०५९ जेठ १३ गते महेन्द्र पुलिस क्लबको हिरासतमै चरम यातना दिएर हत्या गरेको थियो ।
इच्छुकका शोकाञ्जली, इतिहासको यस घडीमा, बन्दी र चन्द्रागिरी जस्ता काव्यकृति प्रकाशित रहेका छन् । कलम साहित्यिक त्रैमासिक, जनादेश साप्ताहिक, जनदिशा दैनिक, योजना लगायतका पत्रपत्रिकामा सम्पादक रहेका उनले साहित्य सन्ध्या (२०५७), पारिजात सिर्जनशील साहित्य पुरस्कार (२०५९),कृष्णमणि साहित्य पुरस्कार (२०५९), प्रगतिशील साहित्य पुरस्कार (२०६१), मरणोपरान्त र प्रेस सेनानी पुरस्कार (२०६५) मरणोपरान्त प्राप्त गरेका हुन ।
यसैगरी दाङ कारागार, भद्र बन्दीगृह, सिरहा र राजविराजमा पटकपटक जेलजीवन बिताएका इच्छुकको शहादतपछि पनि कृष्ण सेन इच्छुक स्मृति ग्रन्थ, इच्छुक रचनावली भाग १, २ र ३, कवि इच्छुक कविताका सन्दर्भमा आस्था र निष्ठाका सतिसाल इच्छुक जस्ता कृति प्रकाशित भएका छन् । खासमा इच्छुक क्रान्तिकारी काव्यधाराका प्रतिनिधि तथा युगीन कवि हुन् ।


