काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशभर लागुऔषधको समस्या डरलाग्दो रुपमा बढिरहेको बताएका छन् । जनकपुरमा शुक्रबार मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले लागुऔषधको नियन्त्रण जरुरी रहेको बताए । उनले सडक दुर्घटना नेपालको अर्को विकराल समस्या रहेको बताउँदै सडक दुर्घटनाबाट दैनिक झन्डै ७ जनाको ज्यान जाने गरेको बताए ।
उनले देशभर आत्महत्याका कारण दैनिक १७ जनाको ज्यान जाने गरेको र साइबर क्राइम पनि डरलाग्दो समस्याका रुपमा आएको बताए । उनले लागुऔषधको नियन्त्रणमा खटिएर लाग्न प्रदेशका सुरक्षा निकायहरुलाई निर्देशन दिए ।
गृहमन्त्री लेखकले शान्ति सुरक्षा देशको पहिलो शर्त र आवश्यकता भएको उल्लेख गरे । शान्ति सुरक्षाको स्थिति कमजोर हुने बित्तिकै देश विकासका काममा अवरोध आउने बताए ।


