काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा आयोजित ’मातृभाषा साहित्यको २१औं शृड्खला’मा लोकबहादुर बायुङ राईले लिखित ’बायुङ भाषाको साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गरेका छन् ।
प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा समालोचना र साहित्येतिहास विभाग प्रमुख डा.मधुसूदन गिरीले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गरेका थिए । उनले वायुङ भाषाको साहित्य र वर्तमान अवस्थाबारेको उक्त कार्यपत्रमाथि चर्चा गर्दै भाषिक र सांस्कृतिक ओैपनिवेशिकका कारण नेपालका मातृभाषाहरू माथि थिचोमिचो भएको बताएका थिए । उनले यसकाविरुद्ध अनुसन्धान गरेर सत्य तथ्य पत्तो लगाउनुपर्ने बताएका थिए ।
विविध जातजाति,प्राकृतिक र सांस्कृतिक ग्रन्थका दस्तावेज सङ्कलन गरेर हडसनले ४९४ गाडा अर्थात् एकपानी जहाज ऐतिहासिक दस्तावेज लगेका थिए भनिन्छ । यसमा ३८१ वटा संस्कृतका पाण्डुलिपि भएको कुरा उल्लेख हुँदै आएको छ।यसको वास्तविकता अध्ययन गर्न ’हडसन कलेक्सन’ सम्म पुग्नुपर्ने बताएका थिए ।
स्वागत मनतव्य तथा कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले मातृभाषा साहित्य शृङ्खलाले समग्र मातृभाषाको विकासमा योगदान पुर्याएको बताएका थिए ।
कार्यक्रम समापनका क्रममा सभाध्यक्ष तथा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख राजन मुकारुङले हरेकपटक राज्यको नयाँ संरचना बन्दा जनजातिको इतिहास , सभ्यता ,थातथलो र संस्कृतिमाथि अतिक्रमण हुँदै आएको र यस उपनिवेशलाई उजागर गर्दै आफ्नो पहिचानलाई जोगाउनुपर्ने बताएका थिए । उनले वायुङ भाषाको साहित्य र वर्तमान अवस्थाबारे लोकबहादुर वायुङ राईले कार्यपत्र प्रस्तुत गरेर आफ्नो र समग्र मातृभाषाका समुदायका लागि महत्त्वपूर्ण काम गरेको बताए ।
कार्यपत्र प्रस्तोता राईले वायुङको भूगोल र जनसंख्या,तथ्यांकमा वायुङ भाषा,वायुङ संस्था,पूर्व कार्यको समीक्षा,वायुङ वर्ण,पाठयक्रम,वायुङ राई भाषाका कृति र कृतिकार,वायुङ स्रष्टा र चुनौतीबारे उल्लेख गरेका थिए । कार्यक्रममा मुगाल भाषाका कवि सोनाम यङ्की,वाम्बुले राईभाषाका कवि सोनाम सज्जन किराती र थारुभाषाका कवि सन्तोषी चौधरीले कविता वाचन गरेका थिए ।
उक्त कार्यपत्रमाथि प्रताप नाछिरिङ,डा. सोम धिमाल र शोभा सुनुवारले आआफ्नो जिज्ञासा तथा सुझाव प्रस्तुत गर्नुभएको थियोे।कार्यक्रमको सहजीकरण प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गरेका थिए ।