काठमाडौं । सामाजिक न्यायविरुद्धको आवाज उठाउने कथावस्तु बोकेको नयाँ नेपाली चलचित्र ‘बिगुल’को निर्माण घोषणा गरिएको छ । बिगुलको सांकेतिक अर्थ अन्यायविरुद्धको आवाज उठाउने बाजासँग जोडिएको छ ।
चलचित्रमा अभिनेता नरेन खड्का मुख्य भूमिकामा अनुबन्ध भएका छन् । निर्माण टिमले उनीसँग लिखित सम्झौता गरेको छ । अहिलेसम्म एक दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेका खड्का पछिल्लो ‘बाह्र गाउँ’मा देखिएका थिए ।
चलचित्र ‘हमेशा’ बाट मुख्य अभिनेताका रूपमा डेब्यु गरेका नरेनले ‘बुलाकी’बाट चर्चामा आएका हुन् । नरेनबाहेक अन्य कलाकारहरूको छनोट टुंगो लाग्न बाँकी रहेको निर्माण टिमले जनाएको छ ।
‘बिगुल’लाई रमेश कोइरालाले निर्देशन गर्नेछन् । उनले ‘लीला’ र ‘नीरमाया’ फिल्मको निर्देशन गरिसकेका छन् । मौनता श्रेष्ठको लेखन रहेको फिल्ममा कल्पना पौडेल प्रस्तुतकर्ताको रुपमा छिन् । एमजीपीको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई शिव ढकालले छायांकन गर्नेछन् ।


