काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दायर भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिल कार्यालयहरूलाई स्वीकृति दिएको छ ।
यस निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा चलिरहेका संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोग फिर्ता हुने छन् ।
महान्यायाधिवक्ता सबिता भण्डारी बरालका अनुसार सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहनेछ । उनका अनुसार संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग फिर्ता लिने गरी मात्रै अभियोगपत्र संशोधन गर्न स्वीकृति दिइएको हो । यसको अर्थ समग्र मुद्दा फिर्ता लिएको रूपमा बुझ्न नहुने उनको भनाइ छ ।













