काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ग्लोबल आईएमई बैंकले ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराउने जनाएको हो । बैंकका अनुसार उक्त सहयोग रकम बेपत्ता व्यक्तिको खोजी, घाइतेको उपचार, प्रभावित परिवारका लागि खाद्यान्न तथा अस्थायी बासस्थानको व्यवस्थापन र क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उपलब्ध गराउन लागिएको हो।
राष्ट्रिय संकट तथा प्राकृतिक विपद्का समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको बैंकले यसअघि पनि देशका विभिन्न क्षेत्रमा भएका बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीका बेला आर्थिक, भौतिक र मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ। साथै बाढी तथा पहिरोका घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।


