काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश आएको छ। उनलाई विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले थुनामा पठाउने आदेश दिएको हो।
भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका महानिर्देशक अधिकारी र पूर्वमहानिर्देशक मुरारी भण्डारीको बयानपछि थुनामा पठाउने आदेश भएको हो।
गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी र भण्डारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। तारेख बुझ्न आयोग पुगेका उनीहरूलाई त्यहीँबाट नियन्त्रणमा लिई विशेष अदालतमा पेश गरिएको थियो। आयोगले उनीहरूविरुद्ध जनही१३ करोड ५७ लाख ४६ हजार बिगो कायम गरी सोही रकम जरिवाना असुल उपर गर्नुपर्ने माग गरेको छ।













