September 22, 2026

पोखरा विमानस्थल निर्माण प्रकरणमा ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल निर्माण प्रकरणमा ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री, १० पूर्वसचिवसहित कुल ५५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आइतबार करिब ८ अर्ब रुपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

पूर्वमन्त्रीहरूमा दिवंगत पोस्टबहादुर बोगटी, कांग्रेस नेता रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्यलाई प्रतिवादी बनाइएको छ। प्रतिवादीमध्ये महत तत्कालीन अर्थमन्त्री थिए भने बाँकी चार जना पूर्वपर्यटनमन्त्री हुन्।

अख्तियारले नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि प्रतिवादी बनाएको छ। यी दुवै अधिकारी नलिन्चोक हेलिपोर्ट निर्माण अनियमिततासँग सम्बन्धित अन्य भ्रष्टाचार प्रकरणमा पनि प्रतिवादी रहेका छन्।

साथै, सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार तथा विमानस्थल निर्माणसम्बन्धी अध्ययन कार्यदलका तत्कालीन संयोजक रामकृष्ण तिमल्सेना, सुरेशमान श्रेष्ठ, मधुकुमार मरासिनी लगायत १० पूर्वसचिवलाई समेत प्रतिवादी बनाइएको छ।

पोखरा विमानस्थल चीनको ऋण सहयोगमा निर्माण भएको राष्ट्रिय गौरवको आयोजना हो। २०६५ सालमा अध्ययन सुरु गरेर २०७९ सालमा निर्माण सम्पन्न भएको यो विमानस्थलको निर्माण प्रकरणमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको उपसमितिले २०८२ वैशाखमा अनुसन्धानका लागि अख्तियारलाई निर्देशन दिएको थियो।

उपसमितिले प्रतिवेदनमा विमानस्थल निर्माणमा करिब १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेका थिए। प्रतिवेदन बुझाएको सात महिनापछि अख्तियारले अनुसन्धान टुंग्याउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सम्बन्धित खबरहरु

भर्खरै