काठमाडौं । नेपालमा सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ। यो रकम कूल आर्थिक उत्पादन (जीडीपी)को करिब ४५ प्रतिशत बराबर छ। सार्वजनिक ऋणमा आन्तरिक ऋण १२ खर्ब ७५ अर्ब र बाह्य ऋण १४ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ।
सार्वजनिक ऋण गत असारदेखि कात्तिकसम्म ५५ अर्ब ३६ करोड रुपैयाँले वृद्धि भएको छ। असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको थियो। असोजको तुलनामा कात्तिकसम्म तिर्न बाँकी ऋण बढेको तथ्य सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
असोजसम्म तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ थियो। ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब ७५ अर्ब ९६ करोड रुपैयाँ (जीडीपीको २०.८९ प्रतिशत) र बाह्य ऋण १४ खर्ब ५३ अर्ब ४५ करोड रुपैयाँ (जीडीपीको २३.८० प्रतिशत) रहेको जानकारी सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दिएको छ।
गत चार महिनामा १ खर्ब ३८ अर्ब ७५ करोड रुपैयाँ नयाँ ऋण प्राप्त भएको छ भने १ खर्ब ५० अर्ब ८८ करोड रुपैयाँ ऋण भुक्तानी गरिएको छ।
विशेषज्ञहरूले सार्वजनिक ऋणको यो दरले दीर्घकालीन अर्थतन्त्रमा दबाव पर्न सक्ने बताएका छन्। त्यसैले आर्थिक योजना र ऋण व्यवस्थापनमा सतर्कता आवश्यक रहेको उनीहरूको सुझाव छ।













