काठमाडौं । नेपालमा सुनको मूल्य लगातार बढ्दै ऐतिहासिक उचाइमा पुगेको छ। डेढ साताभित्रै अर्थात् असोज १९ गतेदेखि आजसम्मको १२ दिनको अवधिमा सुन तोलामा २७ हजार ७ सय रुपैयाँले महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको मूल्य तोलामा २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च दर हो।
दसैँअघि असोज १२ गते सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ थियो। त्यसयता दसैँ अवधिभर मूल्य स्थिर रहे पनि दसैँ सकिएलगत्तै असोज १९ गतेदेखि सुनको भाउ तीव्र गतिमा बढ्न थालेको हो।
महासंघका अनुसार असोज १९ गते तोलामा ७ हजार ४ सय रुपैयाँ बढेको सुन त्यसयता लगातार बढ्दै आएको छ। पछिल्लो मंगलबार मात्रै सुन तोलामा ८ हजार १ सय रुपैयाँले उकालो लागेको थियो भने आज पुनः २ हजार रुपैयाँले बढेको हो।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको दरमा आएको तीव्र वृद्धि नै नेपाली बजारमा मूल्य बढ्नुको मुख्य कारण हो। अमेरिकी डलर कमजोर हुँदा तथा geopolitical अनिश्चितताका कारण लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका छन्।
यसअघि मंसिर १० गते सरकारले भन्सार दर घटाएपछि सुनको मूल्य एकैदिनमा १५ हजार ९ सय रुपैयाँले घटेको थियो। तर अहिले त्यसको उल्टो परिस्थितिमा बजार फेरि उच्च मूल्यतर्फ उक्लिएको छ।













