September 22, 2026

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ करोडको घोटाला : पूर्व उपकुलपति डा.भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ करोडको घोटाला : पूर्व उपकुलपति डा.भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति प्रा.डा. संगीता सिंह भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालतमा १२ करोड ७ लाख ६० हजार ९ सय ४६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा दर्ता गरेको छ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आयोगको विस्तृत अनुसन्धानबाट एमआरआई मेसिन खरिदमा अनियमितता भएको प्रमाणित भएपछि मुद्दा दायर गरिएको हो।

अख्तियारले दाङस्थित प्रतिष्ठानमा एमआरआई मेसिन खरिद गर्दा सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ उल्लङ्घन भएको ठहर गरेको छ। खरिद प्रक्रिया निष्पक्ष नबनाई लुम्बिनी हेल्थकेयर प्रालि लाई फाइदा पुग्ने गरी प्राविधिक विवरण परिवर्तन गरिएको र बोलपत्र खोल्नु अघि नै कम्पनीसँगको मिलेमतोमा सम्झौता गरिएको पाइएको छ।

त्यस्तै, सोही प्रकरणमा तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछाने, तत्कालीन फाइनान्स मेनेजर कैलाशप्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, काठमाडौँका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, र डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी विरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।

यसैगरी, शाखा अधिकृत छायाँ डिसी, शाखा अधिकृत श्रीराम चौधरी, हिरालाल भण्डारी, तत्कालीन सिभिल इन्जिनियर मदन भण्डारी, वरिष्ठ सहायक अन्जु शर्मा, तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई, साथै लुम्बिनी हेल्थकेयर प्रालि र सो कम्पनीका अध्यक्ष पोस्ट राज ज्ञवाली लाई समेत प्रतिवादी बनाइएको छ।

अख्तियारको अनुसन्धान अनुसार, ११ करोड ४५ लाख रुपैयाँमा खरिद भएको भनिएको एमआरआई मेसिनका लागि ठेक्का सम्झौता औपचारिक रूपमा सम्पन्न नहुँदै ८० प्रतिशत रकम अग्रिम भुक्तानी गरिएको थियो। अग्रिम भुक्तानीसहित अन्य खर्च गरी १२ करोडभन्दा बढी रकम सरकारी कोषबाट खर्च भएको र सो रकममध्ये करिब ६२ लाख रुपैयाँ अनियमित रूपमा गुमेको आयोगको ठहर छ।

अनुसन्धानमा आपूर्तिकर्ता कम्पनीले आपूर्ति गरेको मेसिन निर्धारित गुणस्तर र मापदण्डअनुसार नभएको भए पनि झूटा निरीक्षण प्रतिवेदन तयार गरी स्वीकृति दिइएको प्रमाण भेटिएको अख्तियारले जनाएको छ।

अख्तियारले सबै १३ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गर्दै बिगो रकम असुल उपर गर्ने माग राखेको छ।

भण्डारी हाल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापकका रूपमा कार्यरत छिन्।

सम्बन्धित खबरहरु

भर्खरै