September 23, 2026

एमसीसी अन्तर्गत दुई प्रमुख विद्युत् प्रसारणलाइनको निर्माण सम्झौतामा हस्ताक्षर

एमसीसी अन्तर्गत दुई प्रमुख विद्युत् प्रसारणलाइनको निर्माण सम्झौतामा हस्ताक्षर

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले नेपाल र संयुक्त राज्य अमेरिकाको संयुक्त लगानीमा सञ्चालित ‘कम्प्याक्ट’ कार्यक्रमअन्तर्गत दुई प्रमुख विद्युत् प्रसारण आयोजनाको निर्माण सम्झौतामा हस्ताक्षर गरेको छ।

प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे–नयाँ दमौली प्रसारणलाइन निर्माण सम्झौता एञ्जेलिक स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली–नयाँ बुटवल प्रसारणलाइन निर्माण सम्झौता वाइबा–सलासर संयुक्त उपक्रमसँग भएको छ। दुवै आयोजनाको संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर रहेको एमसीए–नेपालले जनाएको छ।

यी सम्झौताअन्तर्गत १८० किलोमिटर लामो ४०० केभी विद्युत् प्रसारणलाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन गरिनेछ। यसले नेपालमा बिजुलीको उपलब्धता र विश्वसनीयता बढाउने साथै क्षेत्रीय विद्युत् व्यापार प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।

अमेरिकी दूतावासका नियोग उपप्रमुख जेसन मिक्सले भने, “यो सम्झौता नेपालको विकास र समृद्धिप्रति अमेरिकाको स्थायी प्रतिबद्धताको प्रतीक हो। यस साझेदारीमार्फत हामी विद्युत् प्रसारणलाइन र आर्थिक पूर्वाधार मात्र निर्माण गरिरहेका छैनौं, नेपालको दीर्घकालीन विकासलाई पनि तीव्र पारिरहेका छौं।”

अर्थ मन्त्रालयका सचिव तथा एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्यायले अमेरिकी सरकारको आर्थिक सहयोगको सराहना गर्दै कार्यक्रमका लागि सरकारको सहयोग निरन्तर रहने बताए।

एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले सम्झौतालाई राष्ट्रिय गौरवको आयोजनाको सफल कार्यान्वयनप्रति नेपाल सरकार र सबै सरोकारवालाको साझा प्रतिबद्धताको रूपमा लिएको बताए।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) एक स्वतन्त्र अमेरिकी सरकारी निकाय हो जसले सुशासन, भ्रष्टाचार नियन्त्रण र लोकतान्त्रिक अधिकारको सम्मान गर्ने राष्ट्रहरूलाई अनुदान र सहायता प्रदान गर्दछ। नेपालमा यसको मुख्य उद्देश्य विद्युत् प्रसारणलाइन र सडक मर्मत आयोजनामार्फत आर्थिक वृद्धिमा योगदान पुर्‍याउनु हो।

सम्बन्धित खबरहरु

भर्खरै