काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेसँगै शेयर बजारमा सकारात्मक प्रभाव परेको देखिएको छ। शेयरधितो कर्जाको सीमा १५ करोडबाट २५ करोड रुपैयाँ पु¥याउने निर्णयपछि लगानीकर्ता उत्साहित बनेका छन्।
शुक्रबार सार्वजनिक मौद्रिक नीतिपछि पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१.८८ अंकले वृद्धि भई २,७६२.८८ विन्दुमा पुगेको छ।
एनआईसी एसिया बैंक अगाडि, ९.९९% ले बढ्यो मूल्य
आजको दिन एनआईसी एसिया बैंकको सेयरमा सर्वाधिक कारोबार देखिएको छ। कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भई लगानीकर्तालाई सबैभन्दा धेरै लाभ दिइरहेको छ। कारोबार रकममा पनि यसले अग्रता लिँदै ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार गरेको हो।
हिमालयन हाइड्रोका लगानीकर्ता मारमा
बजारमा सबैभन्दा बढी घाटामा पर्ने कम्पनी हिमालयन हाइड्रोपावर रहेको छ। कम्पनीको सेयर मूल्य ९.९३ प्रतिशतले घटेको छ।
१५८ कम्पनीको सेयर मूल्य वृद्धि
आजको कारोबारमा १५८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ९० कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। कुल ३११ कम्पनीको ३ करोड २५ लाख ९२ हजार कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
बैंक र लघुवित्त समूहमा उछाल
सेक्टर अनुसार वाणिज्य बैंक समूहको उपसूचक ३.५४ प्रतिशतले र लघुवित्त समूहको ३.६६ प्रतिशतले वृद्धि भएको छ। मौद्रिक नीतिले लगानीमैत्री वातावरण बनाएको भन्दै लगानीकर्तामा आशावाद बढेको देखिन्छ।













