काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ। समीक्षा मार्फत बैंक तथा वित्तीय क्षेत्र र सेयर बजारमा प्रभाव पार्ने महत्त्वपूर्ण नीतिगत परिवर्तनहरू गरिएको छ।
राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमा (स्थायी तरलता सुविधा दर–SLF) लाई ६.०० प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत कायम गरेको छ। त्यस्तै नीतिगत दर पनि ४.५० प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत बनाइएको छ भने निक्षेप सङ्कलन दर २.७५ प्रतिशतमै यथावत राखिएको छ।
व्यक्तिगत ओभरड्राफ्ट कर्जामा ठूलो व्यवस्था
समीक्षाले व्यक्तिगत अधिविकर्ष (Overdraft) कर्जा सीमा शतप्रतिशतले बढाएको छ।
अब बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत ओभरड्राफ्ट कर्जा ५० लाखबाट बढाएर १ करोड रुपैयाँसम्म दिन सक्नेछन्।
मौद्रिक नीति समीक्षामा उल्लेख छ—
“व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा ५० लाखबाट वृद्धि गरी १ करोड कायम गरिनेछ।”
संस्थागत–व्यक्तिगत मुद्दती निक्षेपको १% ब्याज अन्तर खारेज
अहिलेसम्म बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको तुलनामा संस्थागत मुद्दती निक्षेपमा कम्तीमा १ प्रतिशत बिन्दुले कम ब्याजदर राख्नुपर्ने बाध्यता थियो।
यस व्यवस्थालाई राष्ट्र बैंकले खारेज गरेको छ।
अब बैंकहरूलाई ब्याजदर निर्धारणमा थप लचिलोपन मिल्ने अपेक्षा छ।
लघुवित्त क्षेत्रका लागि ठूलो परिवर्तन
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जा सीमामा पनि परिवर्तन गरेको छ।
अब लघुवित्तले प्रदान गर्न सक्ने कर्जाको अधिकतम सीमा
७ लाख रुपैयाँबाट बढाएर १५ लाख रुपैयाँ कायम गरिएको छ।
त्यसैगरी, लघुवित्तका ऋणीहरूले भुक्तानीमा सामना गरेका कठिनाइलाई ध्यानमा राख्दै कर्जा भुक्तानी तालिका परिमार्जन गर्न सकिने व्यवस्था पनि मिलाइने उल्लेख छ।













