September 22, 2026

सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता

सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता

काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्लेले महराविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिएका छन्।

महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजाय माग दाबी गरिएको छ। उनीविरुद्ध मंगलबारदेखि थुनछेक बहस सुरु हुने छ, जसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने वा थुनामा राख्ने निर्णय गर्नेछ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरालाई आइतबार पक्राउ गरेको थियो। उनीमाथि विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लागेको छ।

यो प्रकरण १० पुस २०७९ मा सुरु भएको हो। सो दिन फ्लाई दुबईको फ्लाइट नम्बर FZ 0587 मार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसङले ल्याएका दुई सुटकेस शंकास्पद देखिएपछि विमानस्थल भन्सारले नियन्त्रणमा लिएको थियो। चेकजाँचमा भेप (इ–सिगरेट) फेला परेको थियो।

हानसङले भोलिपल्टै काठमाडौं छाडे पनि भेप लामो समय भन्सार कार्यालयमै थन्किएको थियो। त्यसक्रममा भेप साटिएको शंका लागेपछि २६ वैशाख २०८० मा भन्सार कार्यालयले सीआईबीलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो।

लगभग दुई महिना लामो अनुसन्धानपछि सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सारका नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, उनका चालक लोकेन्द्र पौडेल, राहुल महरा र नीमा गुरुङलाई मतियार बनाएर मुद्दा दायर गरिएको थियो।

 

सम्बन्धित खबरहरु

भर्खरै