September 23, 2026

विभागले भन्यो– ‘इम्बोस्ड नम्बर जडान नगरे पनि कारबाही हुन्न’

विभागले भन्यो– ‘इम्बोस्ड नम्बर जडान नगरे पनि कारबाही हुन्न’

काठमाडौं । सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर जडानका लागि ताकेता गरेको विषय आलोचना भएपछि यातायात व्यवस्था विभागले स्पष्टीकरण दिएको छ । आगामी असोज १ गतेबाट इम्बोस्ड नम्बर जडान नभएमा सवारी दर्ता, नवीकरण र नामसारी समेत नहुने भन्दै विभागले अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्न भनेको थियो । तर त्यसको सामाजिक सञ्जाल, सञ्चारमाध्यम, यातायातसँग सम्बन्धित विभिन्न संगठनदेखि आम नागरिकबाट समेत आचोचना भएको थियो ।

विभागले आज विज्ञप्ति जारी गर्दै असोज १ गतेदेखि इम्बोस्ड नम्बर जडान नगर्नेलाई कारबाही वा जरिवाना गर्ने हल्ला फैलिएको भन्दै त्यसो नगरीने स्पष्ट पारेको हो । ‘इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारीसाधनहरुमा क्रमशः जोड्दै लैजाने निर्णय भएको तर मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाही परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा ततकाललाई कुनै किसिमको दण्ड/जरिवाना नगरिने व्यहोरा समेत स्पष्ट पारिन्छ,’ विभागका महानिर्देशकले विज्ञप्ति जारी गर्दै भनेका छन् । साथै विभागले आफूलाई अनुकुल पर्ने समयमा इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटलाइजेसन कार्यमा सहयोग गर्न समेत आग्रह गरेको छ ।

विभागले इम्बोस्ड नम्बर प्लेट जडानका लागि विभाग र प्रदेश कार्यालयहरुमा जनशक्ति थप गरिएको समेत जनाएको छ ।

 

सम्बन्धित खबरहरु

भर्खरै