September 23, 2026

बैंकहरुको नयाँ ब्याजदर निर्धारण

बैंकहरुको नयाँ ब्याजदर निर्धारण

काठमाडौं । भदौ महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गरेका छन्। बैंकहरूले सार्वजनिक विवरण अनुसार साउनको तुलनामा औसत ब्याजदर सामान्य रूपमा घटेको छ।

साउनमा व्यक्तिगत मुद्दति निक्षेपमा औसत अधिकतम ब्याजदर ५.६० प्रतिशत रहेकोमा भदौमा ५.५७ प्रतिशत पुगेको छ। संस्थागत मुद्दति निक्षेपमा पनि औसत अधिकतम ब्याजदर ४.११ प्रतिशतबाट ३.९६ प्रतिशतमा झरेको छ।

एभरेष्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास, स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज र नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। स्ट्याण्डर्ड चार्टर्ड बैंकले साउनमा ६.२६ प्रतिशत दिँदै आएको ब्याजदर भदौमा ५.१३ प्रतिशतमा झारेको छ।

प्रभु बैंक भने यस समयमा ब्याजदर बढाएको छ। साउनमा ४.२५ प्रतिशत दिने प्रभु बैंकले भदौमा ५.३५ प्रतिशतसम्म ब्याज दिने भएको छ।

व्यक्तिगत मुद्दति निक्षेपमा एनआईसी एशिया बैंकले सबैभन्दा उच्च ६.२५ प्रतिशत ब्याज दिने छ भने लक्ष्मी सनराइज बैंकले अधिकतम ५ प्रतिशत ब्याज दिने गरी सबैभन्दा कम दर कायम गरेको छ।

यसैबीच, विकास बैंकहरूको ब्याजदर भने स्थिर छ। गरिमा, मुक्तिनाथ, कामना सेवा र महालक्ष्मी विकास बैंकले साउनकै अधिकतम ब्याजदरलाई भदौमा निरन्तरता दिएका छन्।

विशेषज्ञहरूले नेपाल राष्ट्र बैंकको ब्याजदर नियन्त्रण नीतिले बजारमा लगानी बढाउने भए पनि पुँजी पलायनको खतरा बढाएको चेतावनी दिएका छन्।

सम्बन्धित खबरहरु

भर्खरै