काठमाडौं । अबदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले २०८२ असोज १ गतेदेखि यो व्यवस्था लागू गर्ने निर्णय गरेको हो। बैठकमा प्रदेश सरकारका मन्त्री, सचिव तथा स्थानीय तहका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
निर्णयअनुसार अबदेखि सवारी दर्ता, नामसारी र नवीकरणको प्रक्रियामा इम्बोस्ड नम्बर प्लेट जडान नगरी अघि बढ्न पाइने छैन। यसको प्राविधिक सहयोग यातायात व्यवस्था विभागले गर्नेछ भने ट्राफिक प्रहरी परिचालन गरी नियमनमा गृह मन्त्रालयको समन्वय रहनेछ।
साथै बैठकले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ प्रक्रिया पनि तिव्र बनाउने निर्णय गरेको छ। सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएको सहमति अनुसार भदौ मसान्तभित्र छपाइ सुरु गर्न अनुरोध गरिएको छ।
हालसम्म कोशी, बागमती र गण्डकी प्रदेशले लाइसेन्स छपाइका लागि आवश्यक खरिद प्रक्रिया अघि बढाइसकेका छन्। त्यसैले उक्त प्रदेशहरूमा उत्पादन तत्काल सुरु गर्न अनुमति दिन पनि बैठकले अनुरोध गर्ने निर्णय गरेको हो।
मन्त्री दाहालले बैठकमा संविधान र कानुनले तोकेको व्यवस्था कार्यान्वयन गर्दै संघीयता मजबुत बनाउने कुरामा जोड दिए। तीनै तहबीचको सहकार्य र समन्वयमार्फत छरितो सेवा प्रवाह र प्रभावकारी शासन सम्भव हुने उल्लेख गर्दै उनले समितिका निर्णयहरू कार्यान्वयनमा ल्याउन आग्रह गरे। त्यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले विगतका निर्णयहरूको समीक्षा गर्दै आगामी कार्यदिशा स्पष्ट पारिएको र महत्वपूर्ण निर्णयहरू भएको बताए।













