काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने समाचारमा कुनै सत्यता नरहेको बताएका छन् ।
आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले चितवनमा विद्युत् आपूर्ति रोकिएको घटनालाई कतिपयले लोडसेडिङको रूपमा गलत ढंगले व्याख्या गरेको जिकिर गरे ।
उनका अनुसार चितवनस्थित सबस्टेशनमा पुरानो कन्डक्टर फेर्ने मर्मत कार्य भइरहेको छ, जसका कारण आइतबार र सोमबार दुई दिनका लागि विद्युत् आपूर्ति अस्थायी रूपमा रोकिएको हो ।
“पुरानो कन्डक्टरले बढ्दो लोड थेग्न नसकेकोले नयाँ कन्डक्टर जडान गर्नुपरेको हो,” शाक्यले स्पष्ट पारे, “यो क्षमतावृद्धि कार्य अन्तर्गतको अस्थायी अवरोध हो, लोडसेडिङ भनेको होइन ।”
डेडिकेटेड र ट्रंक लाइन बक्यौता विवाद
त्यस्तै शाक्यले डेडिकेटेड र ट्रंक लाइनमार्फत लिइएको विद्युतको बक्यौता समाधानका लागि गठन गरिएको प्रशासकीय पुनरावलोकन समितिको म्याद ३५ दिन थपिएको जानकारी पनि दिए ।
उनका अनुसार समितिको निर्णयपछि बक्यौता असुली प्रक्रिया अघि बढाइनेछ । “यदि समयमै बक्यौता तिर्इएन भने सम्बन्धित लाइन काटिनेछ,” शाक्यले चेतावनी दिए ।
प्राधिकरणका अनुसार डेडिकेटेड र ट्रंक लाइन सेवाबाट २४ अर्ब रुपैयाँभन्दा बढीको बक्यौता उठ्न बाँकी छ ।
प्राधिकरणले मर्मत तथा स्तरोन्नति कार्यहरूलाई नियमितरूपमा अगाडि बढाइरहेको जनाउँदै भ्रामक प्रचारप्रति सचेत रहन उपभोक्तालाई आग्रह गरेको छ ।













