काठमाडौं । हङकङ टी–२०आई शृखला नेपलले कुवेतलाई ६ विकेटले हराउँदै सानदार जित निकालेको छ । मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाल लगातार दोस्रो जितका लागि ओपनर कुशल भुर्तेलको सानदार प्रदर्शन गर्दै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ ।
कुवेतविरुद्ध विहीबारको खेलमा नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे । यी दुईले पहिलो विकेटका लागि १ सय २७ रनको साझेदारी गरेका थिए । १४ औं ओभरमा आसिफ क्याच आउट भएका थिए ।
आसिफले ३८ बलमा २ चौका र ४ छक्कासहित ५३ रन जोडे । कुशल भुर्तेलले ५० बलमा ६–६ चौका र छक्कासहित ८१ रन जोडेका थिए ।
त्यसै ओभरमा स्पिनर यासिन पटेलले कुशल मल्ललाई आउट गरेपछि नेपाल केही दबाबमा रहेको थियो । ६ बलमा ४ रन जोडेका कुशल मल्लले यासिनलाई क्याच फिर्ता दिएका थिए ।
त्यसपछि दीपेन्द्र सिंह ऐरीले आक्रामक इनिङ खेल्दै नेपाललाई जितसम्म पुर्याए । दीपेन्द्रले १८ औं ओभरमा मित भावसरलाई ३ छक्का र १ चौकासहित २५ रन जोडेपछि नेपाल जितनजिक पुगेको थियो । उनी १९ औं ओभरको पहिलो बलमा क्याच आउट भए । दीपेन्द्रले १२ बलमा २ चौका र ३ छक्कासहित ३१ रन बनाए ।
गुलशन ९ रन र रोहित ५ रनमा नटआउट रहे ।
टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै आक्रामक सुरुवात दिलाए । उनी पाँचौ ओभरको पहिलो बलमा ललित नारायण राजवंशीबाट क्याच आउट भए । सुरुवाती विकेटका लागि ४३ रनको साझेदारी भएको थियो ।
अर्का ओपनर क्लिन्टो एन्टोले ३० बलमा ४ चौका र २ छक्कासहित ४१ रन जोडे । उनी दशौं ओभरमा आउट हुँदा कुवेत ९७.२ को सुदृढ अवस्थामा रहेको थियो । क्लिन्टोले मित भावसरसँग ५४ रनको साझेदारी गरेका थिए । मित १४ औं ओभरमा सोमपालको बलमा बोल्ड भए । उनले २८ बलमा ३५ रन जोडे । सोमपालले त्यसको २ बलपछि नै उस्मान पटेललाई १३ रनमा आफैं क्याच गर्दै पेभेलियन फर्काए ।
त्यसपछि क्रिजमा आएका बिलाल ताहिरले १३ बलमा १ चौका र ४ छक्कासहित ३२ रन जोड्दै कुवेतले खेलमा फर्काए । उनी १८ औं ओभरमा नन्दन यादवको शिकार बने । एक समय २ सय रनको आँकडा छुने देखिएको कुवेतले मध्य ओभरमा नेपाली स्पिनरविरुद्ध आक्रमण गर्न नसक्दा त्यसमा सफल भएन । नेपालको फिल्डीङ आजको खेलमा कमजोर रह्यो ।
नेपालका लागि सोमपालले ३, नन्दनले २ तथा ललित र कुशल भुर्तेलले १–१ विकेट लिए । आज हुने दोस्रो खेलमा आयोजक हङकङले कतारको सामना गर्नेछ ।
नेपालको २ खेलमा ४ अंक हुँदा कुवेतको २ अंक छ । कतार र हङकङले खाता खोल्न प्रतिस्पर्धा गर्दैछन् ।