शिवप्रसाद जैशी
राजनीतिक अराजकताको परिणाम सामन्तवादको उत्पत्ति हुन्छ । युरोपमा रोमन साम्राज्यको पतनसँगै अराजकताको युग शुरु हुन्छ । केन्द्रीय शासन छिन्नभिन्न हुन्छ । धनजनको असुरक्षा हुन्छ । सारा राज्यहरू टुक्रा–टुक्रा हुन थाल्छन् र युगले नयाँ व्यवस्थाको माग गर्छ । इमान्दारहरूले आफ्नो सुरक्षाका लागि किल्लाहरू बनाउँछन् ।
कमजोर मानिसहरू जमिन्दारको घरमा शरण लिन पुग्छन् । जमिन्दारहरू आफ्नो र शरणमा आउनेहरूको सुरक्षाका लागि हातहतियारसहितका लडाकुहरूको व्यवस्था गर्छन् । विधिवत् रुपमा सामन्तवादको उत्पत्ति हुन्छ । युरोपमा राजनीतिक अराजकताको परिणाम स्वरुप स्थापित सामन्तवादले विश्व भ्रमण गर्न थाल्छ ।
मध्यकालमा सामन्तवाद पदसोपान प्रणालीमा आधारित भएर फस्टाउन थाल्छ । केन्द्र भागमा मूल शासक अनि बीचमा पादरी र अन्तमा किसान । मूल शासकले किसानहरूलाई स–साना जग्गा आफ्नो रक्षार्थ वितरण गर्छन् । सामन्तवाद विश्व भ्रमणमा निस्किदा लगभग उसको जग्गासँग सम्बन्धित आफ्नो चरित्र बोकेरै हिँड्छ । जग्गा दिएर अर्ध गुलाम र पूर्ण गुलाम बनाउने खास चरित्रमा परिवर्तन नभइकनै विश्वका अन्य भागमा यो प्रकट हुन्छ ।
सामन्तवादको घाडा दक्षिण एशिया हुँदै नेपाल प्रवेश गर्छ । नेपालमा राणाकालमा यो बिर्ता, बकसको रुपमा अघि बढ्छ, बिर्ता दिएर निश्चित भूगोलको नियमन, नियन्त्रण र सञ्चालन गर्न विभिन्न भाइभारदारहरू विभिन्न क्षेत्रमा खटाइन्छन् । भाइभारदारहरूले निश्चित क्षेत्र ओगछन् । सामन्तवादको बर्कोलाई सुरक्षित राख्छन् ।
बिर्तावालाहरू स्थानीय शोषकको रुपमा रहन्छन् र निश्चित क्षेत्रको सिर्तो उठाएर नजराना चढाउँछन् । यो पूर्णतया पदसानमै आधारित हुन्छ । पञ्चायतकालमा बिर्ता प्रथाले निरन्तरता पाए पनि थोरै उदार भएर जनस्तरसम्म आइपुग्छ । भूमीहिनहरूलाई बसाउन नयाँ बस्तीहरूको विकास हुन्छ । झापाको रानीझोडादेखि कञ्चनपुरको बेलौरीसम्म विभिन्न स्थानहरूमा गरिएका प्रयासहरू यसका उदाहरण हुन् ।
जनस्तरमा पुगे पनि यो बकसकै रुपमा आयो । सम्मान पूर्वक बाँच्न पाउनु मानिसको नैसर्गिंक अधिकार हो । आजको युगमा गाँस, बास र कपास उसको जन्मसिद्ध अधिकार हो । दयामा बाँच्नु अपमानित हुनु हो । कसैको दया सधैँका लागि र सबैका लागि हुन सक्दैन । ऊ आफ्नो शासक आफैँ हुनुपर्र्र्छ भन्ने मान्यताको विकास भएको पनि दशकौ नाघ्यो भन्ने मान्यता जनस्तरमा पुगेकै कारणले राजा शासित शासनको अन्तको लागि संघर्षहरूको सुरुवात हुन्छ ।
एकल शासनको अन्त्य गर्न बहुलवादको अभ्यास मार्फत गणतन्त्रात्मक शासनको स्थापनार्थ विभिन्न कालखण्डमा पटकपटक जनआन्दोलन हुन्छन् । सफल हुन्छन् । प्रयोगमा जान्छन् र असफल परिणाम हात लाग्छ । यो प्रयोगवादमा पच्चिस वर्षको सक्रिय मानव जीवनलाई एक पुस्ता मान्ने हो भने चार पुस्ता सकिन्छ । लगभग सतक आन्दोलनमै बित्छ । बहुलवाद प्रयोगमा मात्र सिमित हुन्छ ।
बहुलवादको प्रयोगमा सामन्तवादको चरित्र भने नयाँनयाँ रुपमा देखा पर्छ । विभिन्न समयमा भएका जनसम्मिलित आन्दोलनमा वर्गीय उत्थानको नाराले मनमस्तिष्कमा घरजम गर्छ । आन्दोलन अघि बढ्छ । जनताका अगाडी सत्ता घुँडा टेक्छ । अद्यावधिक निर्वाचन मार्फत निर्वाचित जनप्रतिनिधी पदासिन हुन्छन् । वर्ग विहीन समाजको निर्माणको परिकल्पना तुहिन्छ ।
शासनमा पदासिन र यिनका वरिपरिका स्वजनहरूको नयाँ वर्गको रुपमा उदय हुन्छ । समूहगत रुपमा राज्य दोहनबाट समृद्ध हुन्छन् । समाजिक र राज्यको आर्थिक समुन्नतिको सट्टा हर आन्दोलनले निश्चित मानिसहरू सम्मिलित नयाँ वर्गको उत्थानमा राजनीतिक परिवर्तन घुम्छ ।
यो नयाँ वर्गले विभिन्न कोणबाट समाजको उत्थानको नारा जपाएर जनताका लागि भन्ने आश्वासन बाडि रहन्छ । भ्रम छरिरहन्छ । भ्रमको खेती गरिरहन्छ । जनता भन्दाभन्दै जनताबाट आफै बढारिएको थाहा पाउँदैन । सागुरिँदै गएको सत्तासिन घेरामा उन्मुक्त मादकताले मात्तिएको हुन्छ ।
दिग्भ्रमित पार्ने खोक्रा आश्वासनले बहुमत मानिसहरू राज्य व्यवस्था सञ्चालन प्रकृयाबाट टाढिन थाल्छन् । टाढा बनाउन अनेक प्रपञ्च रचिन्छ । अभियोग लगाइन्छ । अल्पमतमा पर्छन् । बहुलवादको घेरा साँगुरिदै साँगुरिदै एकल नेतृत्वको हातमा जान्छ विचार र सिद्धान्तका बहस छलफलहरू किनारा लाग्छन् । छलफल र वहसहरू किनारामात्र लाग्दैनन् यिनीहरू मृत प्रायः हुन्छन् । सबल अब्बल आफंै र आफ्ना भएको स्वप्निल विपनामा लिप्त हन्छन् ।
शासकहरु आफ्नाहरूले आफ्नैमात्र स्वार्थको पोको फलाउँछन् । आममानिसहरु सिमान्तकृत हुँदै जान्छन् । सिमान्तिकृतको भयावह रुप यत्रतत्र सर्वत्र देखापर्छ र सामन्तवादले आफ्नो सक्कल परिवर्तन गरेको महसुस जनमानसमा मात्र हुदैन स्वयं शासकहरू पनि दिग्भ्रमित हुन्छन् ।
गणतन्त्रमा सामन्तवाद जग्गामा मात्र सिमित हुँदैन् । एकातिर जग्गाको आयतन सिमित भएकोले जनसंख्याको वृद्धिको तुलनामा यसको अभाव हुन्छ भने अर्कोतिर मानिसको चेतनामा आएको परिवर्तन र परिवर्तित समाजका बदलिँएका चाहनाले जग्गा भन्दा अरु थोकको माग बढ्छ । विस्तारित रुप जागिर र अन्य व्यपार व्यवसायमा पनि देखा पर्छ । गणतन्त्रका नायकहरूले आफ्नो सुरक्षाका लागि विभिन्न निकायमा आफ्ना दूतहरूलाई नियुक्ति दिन्छन् । नियुक्ति पाउनेहरूले द्रव्य वा अन्य कुनै चिजहरू सिर्तोकै रुपमा नजराना चढाउँछन् । यो पनि सोझै हुँदैन । पदसोपानमै आधारित हुन्छ । आवश्यकता अनुसार विभिन्न तहमा विभाजित हुन्छ ।
व्यापार प्रवद्र्र्धनमा पनि यसको प्रयोग हुन्छ । नीति फेरबदल मार्फत कुनै न कुनै रुपमा व्यापारमा सहभागिता जनाउँछन् यी गणतन्त्रवादीहरू । सिद्धान्तको मझेरीमा धमिरा लाग्छ पद, प्रतिष्ठा र धन प्रेमले । समावेशितामा मानिसरुलाई अल्मल्याइन्छ । केही मानिसहरू जसले उपल्लाको राम्रो पुजारीको भूमिका निर्वाह गर्छ त्यस्ता सिमित मानिसहरूको सहभागिता बाहिरी आवरणमा देखाउनकै लागि भएपनि गरिन्छ । उनीहरूको कुनै हस्तक्षेपकारी भूमिका हँुदैन ।
केवल मत जाहेर र ताली पिटाइमा समेल गराउनको लागि एक किसिमको प्रयोगवादको अबलम्बन गरिन्छ । त्यहि समावेशिताका नाममा आफ्ना र आफन्तहरूको राज्यमा गितलो पहुँचद्वारा आधुनिक गणतान्त्रिक सामन्तवादलाई परिचालित गरिन्छ ।
फुलाइन्छ, फलाइन्छ । पुरानो पदसोपानलाई आधुनिक जलप दिएर सिंगारपटार गरी लोक रिझ्याइँ गरिन्छ । न्याय, व्यापार र प्रशासन लगायतका क्षेत्रहरूमा गणतान्त्रिक समान्तवादको अंकुश लाग्छ । हाम्रा जति राम्रा सिद्धान्तले प्रस्रय पाउँछ । यसको विकास र विस्तार हुन्छ । पदसोपानमा आधारित गणातान्त्रिक औंजारहरूको प्रयोगमार्फत स्टैट क्याप्चर्डको मान्यता स्थापित हुन्छ । मानिसका मनोगत आकांक्षा अनुरुप कार्यसम्पादन हुदै जान्छ प्रणाालीगत मान्यताहरू कोमामा जान्छन् । संस्थागत संरचनाहरूको स्वासप्रश्वास रोकिन्छ । समग्र राज्य नैं कब्जियतले ग्रस्त हुन्छ ।
आलोपालो प्रयोगले स्टैट मेकानिज्म असफलतातिर जान्छ । असफल प्रयोगको जिम्मा लिन एक अर्कामाथि दोषारोपणको युग शुरु हुन्छ । एकले अर्काको धोती खुस्काउन खोज्दा सबैको लाज छताछुल्ल हुने डर देखा पर्छ । नयाँ समिकरणहरू जन्मिन्छन् । विभिन्न दलहरूमा एकै प्रकारले यो चरित्र निर्माण हुँदै जान्छ । दलदलहरू सम्मिलित नयाँ पदसोपान बन्दछ । तिनै दलदलका पदसोपानहरूको कन्सोलिडेटेट् पृथक पदसोपान तयार हुन्छ ।
यही पदसोपान उलपलटभै रहन्छ । एक पदसोपानको मुहान गन्हाउन थालेपछि त्यो गन्धलाई सुगन्धमा परिणत गर्न कन्सोलिडेटेट् पदसोपानले भरमग्दुर प्रयास गर्छ । सबैको लाज छोप्न सबै लाग्छन् ।
एउटाको धोती अर्कोले सम्हाल्ने गरी सहमती र सहकार्य गर्ने सम्झौता टुप्पोमा बस्नेहरूको बीचमा हुन्छ । दलभित्रको माथिल्लो चुच्चोमा आशिनहरूका दस्तखतले स्वबचाऊ अभियानको शुरुवात हुन्छ । सबैतिर जयजयगान प्रारम्भ हुन्छ । तलदेखि माथिसम्मको बचाउ नगर्दा मुल नै फेरिने सम्भावनालाई नजर अन्दाज गर्न नमिल्ने निस्कर्षमा पुग्छन् ।
सबैको बचाउमा पदसोपानले काम गर्छ । पदसोपानमा अडिएर बसेका बचेखुचेका केही शुद्ध मनुवाहरू निशस्त्र सेना जस्तो निरीह भएर बस्छन् । परम्परागत सामन्तवादमा जस्तै विचार ओकल्न खोज्नेहरू किनारा लाग्छन् । सोपान भित्र अटदैनन् । राज्यका सबै अंगहरूमा पदसोपानको चुच्चोका मानिसहरूको आदेश पालकहरू वैधानिक रुपले विराजमान हुन्छन् । विश्वको नौलो प्रयोग सायद यो नैं होला आधुनिक युगको सभ्य समाजमा सामन्तवादको गणतान्त्रिक रुप गणतान्त्रिक रथमा सामन्तवादको सवारी निरन्तर चलिरहेको छ ।