December 11, 2024

उसु महासंघको अध्यक्षमा बर्तौला

उसु महासंघको अध्यक्षमा बर्तौला

 

काठमाडौं । नेपाल उसु महासंघको अध्यक्षमा जनक बर्तौला निर्विरोध निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न साधारण सभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रिय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

सभाले शैलेश कर्माचार्यलाई वरिष्ठ उपाध्यक्ष तथा दीपक लामा र अशोक विक्रम शाहलाई उपाध्यक्षमा चयन गरेको छ । त्यस्तै नवराज ढुङ्गाना महासचिव, राजीव महर्जन उप महासचिव, नवीन बस्नेत सचिव तथा शंकर भुजेलले कोषाध्यक्षमा चुनिएका छन् ।

त्यसैगरी शुभराम मुनाकर्मी, लव ढुङ्गाना, गजराज खड्का, राजेन्द्र कुमार राई, शर्मिला कारञ्जित, अञ्जली थापा, अजय बुढाथोकी, राम बहादुर राना भुसाल, तिलक चौधरी, जनक राज उपाध्याय, नवीन महर्जन र डम्बर यादव सदस्यमा चयन भएका छन् ।

खेलाडी पृष्ठभूमिका बर्तौला यस अघि सह अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । वरिष्ठ उपाध्यक्ष कर्माचार्य राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोशाध्यक्ष हुन् भने उपाध्यक्ष लामा खेलाडी पृष्ठभूमि र शाह व्यापारिक पृष्ठभूमिबाट पदाधिकारी भएका हुन् । महासचिव ढुङ्गाना खेल क्षेत्रलाई राम्रो सँग बुझेका पूर्व जनमुक्ति सेनाका कमान्डर हुन् । उपमहासचिव महर्जन पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षकको रूपमा सक्रिय छन् । खेलाडी पृष्ठभूमिका शंकर रेफ्रीको रूपमा सक्रिय छन् ।

नव निर्वाचित पदाधिकारीहरुलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत प्रेमबहादुर मल्लले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र प्रदान गरेका थिए ।

त्यसअघि साधारण सभाको राखेपका उपाध्यक्ष शिव कोइरालाले कार्यक्रम उद्घाटन गरेका थिए । साधारण सभामा केन्द्र, ४ प्रदेश र विभिन्न ३० जिल्लाका ६९ प्रतिनिधिको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content