October 23, 2026

जनसांस्कृतिक महासङ्‌घ,नेपाल एक नम्बर प्रदेशद्वारा स्रष्टा सम्मानसहित कविता वाचन

जनसांस्कृतिक महासङ्‌घ,नेपाल एक नम्बर प्रदेशद्वारा स्रष्टा सम्मानसहित कविता वाचन

धरान । जनसांस्कृतिक महासङ्घ, नेपाल एक नम्बर (कोसी) प्रदेश समितिको आयोजनामा स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ।

‘स्वाधीनता, सुशासन, समृद्धि र वैज्ञानिक समाजवादका लागि जनसंस्कृति’ भन्ने उद्घोषका साथ आयोजित कार्यक्रम धरान–१८, बुद्धचोकस्थित विमल स्मृति पुस्तकालय, सुनसरीमा वरिष्ठ कवि तथा प्राज्ञ चेतनाथ धमलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि धमलाले भाषा, साहित्य, संस्कृति र कलालगायतका क्षेत्रमा कोसी प्रदेशको विशेष महत्त्व रहेको बताए। उनले अबको साहित्य सिर्जनामा वर्गीय पहिचान, समावेशिता, विचार, कला र सौन्दर्यबोध समेटिनुपर्नेमा जोड दिए।

सो अवसरमा साहित्यिक क्षेत्रमा विशेष योगदान पुर्‍याएका स्रष्टाहरू शङ्कर सुनुवार, देव सुब्बा इजम र टङ्क राजवंशीलाई सम्मान गरिएको थियो। त्यस्तै, साहित्यिक क्षेत्रको उन्नयनमा विशिष्ट योगदान पुर्‍याएको भन्दै धरान उपमहानगरपालिका–१३ का अध्यक्ष नेत्रप्रसाद काफ्ले र कवि शकुन्तला त्रिखत्री (भुसाल) लाई पनि सम्मान गरिएको थियो। बिरामी अवस्थामा रहेकी त्रिखत्रीलाई प्रमुख अतिथि धमला र महासङ्घका प्रदेश संयोजक प्राज्ञ प्राडा खेमराज खनालले उहाँकै निवासमा पुगेर सुस्वास्थ्यको कामनासहित सम्मान हस्तान्तरण गरेका थिए।

कार्यक्रमका सभाध्यक्ष तथा जनसांस्कृतिक महासङ्घ, नेपाल कोसी प्रदेशका संयोजक प्राज्ञ प्राडा खेमराज खनालले महासङ्घले सबै जातजाति, भाषा, संस्कृति र साहित्यको संरक्षण तथा सम्बर्द्धन गर्दै समाजवादी लेखन यात्रालाई अघि बढाउनुपर्ने बताए।

कार्यक्रमका विशिष्ट अतिथि, पूर्वसांसद तथा वरिष्ठ प्रगतिवादी कवि कुन्ता शर्माले प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञ नियुक्त गर्दा सरकारले मनोमानी गरेको भन्दै चिन्ता व्यक्त गरिन्। उनले उच्च प्राज्ञिक मूल्य र मान्यताको संरक्षण गर्नुपर्नेमा जोड दिँदै साहित्य सिर्जनाबाट मात्रै विचारको समृद्धितर्फ अघि बढ्न सकिने बताइन्।

नेकपा धरान नगरपालिकाका संयोजक सिपी बजगाईँले स्रष्टाहरूले भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्‍याएको योगदानलाई विशेष महत्त्वका साथ बुझ्नुपर्ने बताए।

महासङ्घकी प्रदेश सहसंयोजक खुश्बु राईले स्वागत मन्तव्य व्यक्त गर्दै जनसंस्कृतिलाई आत्मसात् गरी सिर्जनाको क्षेत्रमा निरन्तर क्रियाशील स्रष्टाहरूलाई सम्मान गर्नु महत्त्वपूर्ण कार्य भएको बताइन्।

कार्यक्रममा महासङ्घका कार्यालय सदस्य तथा कवि विमला पोखरेल लगायतले कविता वाचन गरेका थिए। सम्मानित स्रष्टा देव सुब्बा इजमले विचार, मुन्दुम चेतना र दृष्टिकोणका विषयमा धारणा राख्दै अबको लेखनमा सांस्कृतिक पहिचानलाई पनि महत्त्वपूर्ण पक्षका रूपमा समेटिनुपर्ने बताए।

त्यस्तै, विशेष अतिथि ममता मृदुलले लघुकथा तथा अम्बिका शाक्यले कविता वाचन गरे। सम्मानित स्रष्टा शङ्कर सुनुवार, सहप्राध्यापक टेकनाथ घिमिरे, महेश श्रेष्ठ, सत्यनारायण चौधरी, राधिका कार्की, मनि राई गोठाले, रोसन पराजुली, मचिन्द्र खत्री, रोजन शङ्कर, तारा लामगादे, गोपाल प्रयास ‘श्रेष्ठ’, हिक्मत खड्का, सवि मेबाहाङ, शङ्कर देवान, टङ्क राजवंशी र युवराज विष्टलगायतले आ–आफ्ना रचना प्रस्तुत गरेका थिए।

महासङ्घ, नेपाल कोसी प्रदेश समितिका कार्यालय सदस्य तथा कवि सुधिर केसीले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रममा प्राध्यापक डाक्टर भरत भट्टराई, उपप्राध्यापक सोमनाथ खतिवडा, प्रदेश महासङ्घका कार्यालय सदस्य राजेन्द्र दाहाल, गणेशकुमारी राई, सोफिया लिम्बू, जेनी लिम्बू, टङ्का लिम्बू, पूर्णबहादुर गुरुङ, जमुना श्रेष्ठ, लोकराज निरौला, अबिरसिंह याक्सो, नारायण भण्डारी, प्रतीक्षा सापकोटा, सौगात खतिवडा, सुभद्रा अधिकारी, सीता धमला, शोभा खनाल, सिर्जना श्रेष्ठ, हर्कराज चर्मकार, यशोदा राई, फुमा सुनुवार, निर्मला नेपाललगायत करिब ६० जनाको सहभागिता रहेको थियो।

कार्यक्रम सफल बनाउन शोभा मिश्र, सिर्जना श्रेष्ठ, प्रतीक्षा खतिवडा र सीता गौतमले सहयोग गरेका थिए।

सम्बन्धित खबरहरु

भर्खरै