काठमाडौं । सन्त निरंकारी मण्डल, नेपालको बृहत् खुला आध्यात्मिक सत्सङ्ग तथा रक्तदान शिविर सम्पन्न भएको छ । आइतबार विजय स्मारक माध्यात्मिक विद्यालय डिल्लीबजारको प्रांगणमा आयोजित कार्यक्रममा ६२ पिन्ट रगत संकलन भएको र खुला सत्संगमा करिब ५ सय जनाको सहभागिता रहेको मण्डलले जनाएको छ ।
सत्संग कार्यक्रमका प्रमुख एवं मण्डलका केन्द्रीय कोषाध्यक्ष कृष्ण कन्हैया पाठकले समाजमा विभिन्न नाममा बढ्दै गएको अशान्ति र असन्तुष्टिको अवस्था अन्त्यका लागि आध्यात्मिक चिन्तन नै उपयुक्त विकल्प हुने बताए । उनले आध्यात्मिक चेतनाले नै मानवता, सहअस्तित्व, समानता र भाइचाराको भावना विकास गरी विश्वबन्धुत्व हुने भन्दै हरेक मानिसले आध्यात्मिक ज्ञान लिन आवश्यक रहेकामा जोड दिए ।
मण्डलका केन्द्रीय उपाध्यक्ष एवं काठमाडौं प्रमुख कृष्णबहादुर पन्तले विभिन्न जाति, सम्प्रदाय, भाषा र धर्मका नाममा समाज विभाजित रहेको भएको भन्दै त्यसविरुद्ध असल भावना विकासको आधार आध्यात्मिक मार्ग नै हुने धारणा राखे ।
कार्यक्रममा मण्डलका केन्द्रीय सचिव अनिल महर्जन, क्षेत्रीय सञ्चालक बाबुराज महर्जन, निवर्तमान प्रतिनिधिसभा सदस्य रन्जु ठाकुर, नेपाल राष्ट्र बैंकका उपनिर्देशक भरत वड, डा. बाबुराम भुल, कवि विजय विश्वकर्मालगायतले आफ्नो विचार तथा सृजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुर, विभिन्न संघ संस्थामा कार्यरत व्यक्ति तथा प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रम सञ्चालक ध्रुव अधिकारीले जानकारी दिए । कार्यक्रममा नेपाल खुला विश्वविद्यालयबाट पहिलो पटक विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्ने व्यक्ति बाबुराम भुललाई मण्डलले सम्मानसमेत गरेको उनले बताए ।







