काठमाडौं । नेपाली हास्यव्यंग्य साहित्यको उन्नयन र विकासका लागि हास्यव्यंग्यकार राजेन्द्र कार्कीद्वारा स्थापना गरिएको ‘खाइराइड हास्यव्यंग्य पुरस्कार–२०८२’ विशेष समारोहको आयोजना गरी समर्पण गरिएको छ । गत मंसिर १, २०८२ को समयावधि तोकी विद्यालय तहका विद्यार्थीहरूका लागि ‘हास्यव्यंग्य निबन्ध प्रतियोगिता–२०८२’ अन्तर्गत बाङ्गा अक्षरले निबन्ध आह्वान गरेको थियो । देशभरका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीबाट प्राप्त निबन्धहरूको मूल्याङ्कनका आधारमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने छात्रछात्रालाई सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरिएको हो ।
प्रतियोगितामा कुसुम घिमिरे (काभ्रे इङ्लिश माध्यमिक विद्यालय, पनौती काभ्रे) ले प्रथम स्थान हासिल गर्दै नगद २० हजार रुपैयाँसहित सम्मानपत्र प्राप्त गरिन्। द्वितीय स्थान प्राप्त गर्ने साइमन घिमिरे (डियरवाक सिफल स्कुल, सिफल काठमाडौं) लाई नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो।
त्यसैगरी अनुश्री आचार्य (डियरवाक सिफल स्कुल, सिफल काठमाडौं) र विनिता प्रधान (सिद्धेश्वर माध्यमिक विद्यालय, दाँवा भोजपुर) लाई जनही नगद पाँच–पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो। विनिता प्रधानको पुरस्कार रकम तथा सम्मानपत्र विद्यालयमै कार्यक्रम आयोजना गरी हस्तान्तरण गरिने आग्रह भएकाले सम्बन्धित विद्यालयमा पठाइसकिएको जानकारी दिइएको छ ।
पुरस्कृत छात्रछात्रालाई फित्कौलीद्वारा प्रकाशित हास्यव्यंग्य कृतिहरू उपहारस्वरूप पनि प्रदान गरिएको थियो। अमेरिकामा क्रियाशील हास्यव्यंग्य संस्था बाङ्गा अक्षर नेपाल शाखाका अध्यक्ष डिल्लीप्रसाद मूलतिहूनको सभापतित्वमा सम्पन्न समारोहका प्रमुख अतिथि फित्कौली डटकमका प्रधान सम्पादक एवम् हास्यव्यंग्यकार नरनाथ लुइँटेल रहेका थिए । अन्य अतिथिहरूमा प्राज्ञ श्याम तामोट, हास्य कलाकार मनोज गजुरेल र सुवोध गौतम, डा. टिका लम्साल, चण्डी कार्की लगायतको उपस्थिति रहेको थियो।

डा. टिका लम्सालले बाङ्गा अक्षरको उपस्थिति र खाइराइड हास्यव्यङ्ग्य पुरस्कार स्थापनाको उद्देश्यबारे प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गरेका थिए। पुरस्कार अर्पणअघि हास्यव्यङ्ग्यकार तथा सिस्नुपानी नेपालका अध्यक्ष एवं रचना मूल्याङ्कन समितिका संयोजक लक्ष्मण गाम्नाङ्गेले तयार पारेको समीक्षात्मक टिप्पणी अनिल पौडेलले वाचन गरेका थिए।
कार्यक्रममा श्याम तामोट र चण्डी कार्कीले पुरस्कृत छात्रछात्रा तथा सहभागी विद्यालय परिवारप्रति बधाइ तथा शुभकामना व्यक्त गरेका थिए। प्रमुख अतिथि मन्तव्यका क्रममा हास्यव्यंग्यकार नरनाथ लुइँटेलले खाइराइड हास्यव्यंग्य पुरस्कार नेपाली हास्यव्यंग्य साहित्यको पुनर्जागरणमा महत्वपूर्ण कडी बन्ने विश्वास व्यक्त गर्दै यसले युवा पुस्तामा हास्यव्यङ्ग्य लेखनप्रति अभिरुचि जगाउने र अभिप्रेरित गर्ने आशा व्यक्त गरे। उनले बाङ्गा अक्षर परिवार र विशेष गरी पुरस्कार संस्थापक राजेन्द्र कार्कीलाई विशेष शुभकामना पनि दिएका थिए।
कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल र सुवोध गौतमले प्रस्तुत गरेका हास्यव्यंग्यमूलक प्रस्तुतीहरूले सभाकक्षलाई हाँसोमय बनाएको थियो। पुरस्कृत छात्रछात्राहरूले आफ्ना निबन्ध स्वयं वाचन गरेका थिए भने चक्र दवाडी, अनिता कोइराला र अनिल पौडेलले व्यङ्ग्यात्मक कविता प्रस्तुत गरेका थिए।
हास्यव्यंग्यकार तथा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे, कवि तथा साहित्यकार डा.ऋषि बस्ताकोटी र हास्यव्यंग्यकार गायत्री लम्साल सदस्य रहेको मूल्याङ्कन समितिको मूल्यांकनका आधारमा विजेताहरू घोषणा गरी पुरस्कृत गरिएको हो।
कार्यक्रमको अन्त्यमा डा.ऋषि बस्ताकोटीको ‘पानीको रंग’ कवितासङ्ग्रहको प्रोत्साहन पुरस्कारस्वरूप डियरवाक सिफल स्कुलका १२ जना छात्रछात्रालाई प्रमुख अतिथि नरनाथ लुइँटेलमार्फत हस्तान्तरण गरिएको थियो।
हास्यव्यंग्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको उक्त समारोहको सञ्चालन अनिल पौडेलले गरेका थिए ।







