काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच सोमबार बेलुकी करिब ६ घण्टा लामो छलफल भएको छ। बेलुकी ७ बजे सुरु भएको छलफल राति १ बजेसम्म चलेको थियो।
काठमाडौँको कमलपोखरीस्थित रास्वपाका पूर्व सांसद असिम शाहको निवासमा भएको छलफलमा आगामी निर्वाचनमा मिलेर अघि बढ्ने विषयमा केन्द्रित संवाद भएको बताइएको छ। विशेषगरी अन्तरिम सरकारले तोकेको आगामी फागुन २१ गतेको निर्वाचनमा कसरी सहकार्य गरेर अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको सहभागी नेताहरूले बताएका छन्।
उक्त छलफलमा रवि लामिछाने र बालेन शाहसँगै रास्वपाका उपसभापति डीपी अर्याल, असिम शाह, आसिफ शाह, कुमार बेन, निश्चल बस्नेतलगायतको सहभागिता रहेको थियो।
रास्वपा नेता असिम शाहका अनुसार छलफल सौहार्दपूर्ण वातावरणमा भएको थियो। मुलुकको वर्तमान राजनीतिक अवस्थाबाट निकास खोज्ने, प्रणालीगत सुधार र परिवर्तनका लागि संयुक्त पहल आवश्यक रहेको विषयमा गहिरो कुराकानी भएको उनले बताए।
भेटका क्रममा रवि र बालेनबीच एक्ला–एक्लै तथा सामूहिक रूपमा विभिन्न राजनीतिक विषयमा छलफल भएको थियो। देशका लागि अब एउटै ठाउँमा उभिएर समाधान खोज्नुपर्नेमा दुवै पक्ष सहमत देखिएको शाहको भनाइ छ।
छलफलपछि आगामी निर्वाचनमा दुवै नेता मिलेर अघि बढ्ने विषयमा सैद्धान्तिक सहमति भएको रास्वपा नेताहरूले जनाएका छन्। यस सहमतिलाई आगामी दिनमा औपचारिक रूप दिने विषयमा थप संवाद हुने बताइएको छ।







