September 22, 2026

एमसीए नेपालले गर्यो पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिका लागि साढे ३ अर्बको ठेक्का सम्झौता

एमसीए नेपालले गर्यो पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिका लागि साढे ३ अर्बको ठेक्का सम्झौता

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टअन्तर्गत एमसीए–नेपालले सोमबार ‍झन्डै २ करोड ३७ लाख अमेरिकी डलर (३ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ) बराबरको दुई सम्झौतामा हस्ताक्षर गरेको छ। सम्झौताअनुसार पूर्व–पश्चिम राजमार्गको धान खोला–लमही सडक खण्ड स्तरोन्नतिका लागि नवीनतम प्रविधि ‘फुल डेप्थ रिक्लेमेसन तथा सुपरपेभ’ प्रयोग गरिने छ।

एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टका अनुसार ४० किलोमिटर सडक खण्डमा सात मिटर चौडा क्यारिज वे र २.५ मिटर चौडा सोल्डर निर्माण गरी कुल १२ मिटर चौडा सडक बनाइनेछ। यसले व्यापार र यातायात लागत घटाउने, साथै सडक सुरक्षामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।

सडक स्तरोन्नति कार्य र नारायणघाट–मुग्लिङ सडक खण्डको आवधिक मर्मतको सुपरिवेक्षणका लागि इन्टरनेसनल कन्सल्ट्यान्ट्स एन्ड टेक्नोक्र्याट्स प्रालिसँग पनि सम्झौता गरिएको छ। जसले परियोजनाको गुणस्तर र समयमै सम्पन्न सुनिश्चित गर्नेछ।

नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले यस सम्झौताले सरकारका सबै तहमा साझा प्रतिबद्धता देखाउने उल्लेखनीय उपलब्धि भएको बताए। अर्थ मन्त्रालयका सहसचिव डा. धनिराम शर्माले भने, ‘नेपालमा पहिलो पटक भित्रिएको आधुनिक प्रविधिबाट दिगो, प्रभावकारी र मितव्ययी सडक मर्मत सम्भव भएको छ। एमसीए–नेपाल यो आयोजना समयमै सम्पन्न गर्न सक्षम छ।’

सम्बन्धित खबरहरु

भर्खरै