काठमाडौं । सर्वोच्च अदालतको पुनर्वहाली आदेशपछि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आज पुनः कार्यभार सम्हालेका छन्।
जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारका विभागीय मन्त्री कुलमान घिसिङले शाक्यलाई गत असोजमा बर्खास्त गरेर ऊर्जा आयोगमा पठाएका थिए। त्यसविरुद्ध शाक्यले सर्वोच्च अदालत पुगेर मुद्दा दायर गरेका थिए। सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यको पक्षमा पुनर्वहाली आदेश दिएको थियो।
सर्वोच्च अदालतले शाक्यलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण ढंगले हटाइएको ठहर गर्दै उनको कार्यकारी निर्देशकको हैसियत पुनः बहाल गरेको छ।
शाक्यले कार्यभार सम्हाल्दै विद्युत् प्राधिकरण र मुलुकको हितमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्राधिकरणकै अग्रसरतामा गुणस्तरीय, भरपर्दो र निरन्तर विद्युत् आपूर्तिको प्रणाली सुधारमा ध्यान केन्द्रित गर्दै आयोजना निर्माणमा योगदान दिने बताए।
शाक्यले बाँकी कार्यकालमा अझ मिहिनेत गरेर सरकारको नीति निर्देशनअनुसार काम गर्ने प्रतिबद्धता पनि जनाए।







