काठमाडौं । नेपाली हास्यव्यंग्यको सम्बर्धनका लागि क्रियाशील फित्कौली अनलाइन मिडिया तथा फित्कौली डटकमले विशिष्ट हास्यव्यंग्यकार मुकुन्द आचार्यलाई ‘फित्कौली हास्यव्यंग्य राष्ट्रिय सम्मान–२०८२’ द्वारा सम्मानित गरेको छ । त्यस्तै वरिष्ठ हास्यव्यंग्य कलाकार एवं कवि डम्बर घिमिरेलाई ‘श्रीप्रशन्नमूर्ति फित्कौली सम्मान–२०८२’ अर्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि डा.माधवप्रसाद पोखरेलले समाज परिवर्तनमा तथा विशेषगरी राजनीतिभित्र देखिएका विकृतिहरू नियन्त्रण गर्न हास्यव्यंग्यले प्रभावकारी भूमिका खेल्ने उल्लेख गर्दै साहित्यकारहरूको योगदानको प्रशंसा गरेका थिए ।
भक्तपुरको कौशलटारस्थित ह्वाइट प्यालेस ब्यांक्वेटमा आयोजित फित्कौली खित्कौली सभा–४ मा यस वर्ष हास्यव्यंग्य लेखन र कलामा उल्लेखनीय योगदान पुर्याउने छ जना स्रष्टा सम्मानित भए । २०८२ का लागि ‘गोविन्द–विजया–फित्कौली राष्ट्रिय हास्यव्यंग्य प्रतिभा पुरस्कार’ काठमाडौंका माणिकरत्न शाक्यलाई र ‘फित्कौली राष्ट्रिय हास्यव्यंग्य निबन्ध पुरस्कार’ पोखराका हास्यव्यंग्यकार शेषराज भट्टराईलाई प्रदान गरिएको थियो ।
त्यसैगरी ‘फित्कौली हास्यव्यंग्य राष्ट्रिय कविता पुरस्कार–२०८२’ ओखलढुंगाका छन्द व्यंग्यकवि डिल्लीप्रसाद मूलतिहुनलाई र ‘मुकुन्द–मुना फित्कौली राष्ट्रिय बुुढ्यौली साहित्य पुरस्कार’ भक्तपुरका कविराज घिमिरेलाई अर्पण गरिएको थियो ।
सम्मान तथा पुरस्कार अन्तर्गत डम्बर घिमिरेलाई सम्मानपत्र, ढाकाटोपी र दोसल्ला, जबकि हास्यव्यंग्यकार आचार्यलाई २० हजार १ सय ५, सम्मानपत्र तथा दोसल्ला प्रदान गरिएको थियो । अन्य पुरस्कृतहरू शाक्य, भट्टराई, मूलतिहुन र घिमिरेले जनही १५ हजार १ सय ५, सम्मानपत्र र ढाकाटोपी प्रदान गरिएको थियो ।
छनोट समितिमा संयोजक चट्याङ मास्टर, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे र प्रा.डा. मुकेशकुमार चालिसे शामिल थिए । समारोहमा डा. रमेश शुभेच्छुले सम्मानित तथा पुरस्कृत स्रष्टाहरूको परिचय वाचन गरेका थिए ।
कार्यक्रम वरिष्ठ हास्यव्यंग्य लेखक नरेन्द्रराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । सोही अवसरमा तीन नयाँ हास्यव्यंग्य कृतिहरू देवीप्रसाद चापागाईंको बक्रपुराण, भलाद्मी भोलाको घोप्टेयुग र रमेश समर्थनको बदनाम आँचल सार्वजनिक गरिएको थियो ।
चापागाईंको बक्रपुराण माथि डा.हरिप्रसाद सिलवाल, भलाद्मी भोलाको घोप्टेयुग माथि नवराज खतिवडाले आलोचनात्मक समीक्षा गरेका थिए । कार्यक्रममा ‘मेरा बा’ शीर्षकको हास्यप्रहसन रोहित दाहाल, पार्वती दाहाल र टंक दाहालले प्रस्तुत गरेका थिए । सुबोध गौतम, धीरेन्द्र प्रेमर्षि र रणबहादुर बुढाथोकीको हास्यव्यंग्य प्रस्तुति पनि आकर्षण बनेको थियो ।
त्यसबाहेक विश्वनाथ ढुंगेल (नुन बाजे), सीताराम गुरुङ, थरेन्द्र बराललगायतका कलाकारहरूले गायन, कविता तथा व्यंग्यका विविध प्रस्तुति दिएका थिए । फित्कौलीका प्रधान सम्पादक नरनाथ लुइँटेलले स्वागत मन्तव्य दिँदै फित्कौलीले २०८० दशकलाई नेपाली हास्यव्यङ्ग्यको पुनरर्जागरण दशक बनाउने लक्ष्य राखेको बताए ।
फित्कौलीले यसअघि हास्यव्यंग्यकार चोलेश्वर शर्मा, आर.सी रिजाल, गायत्री लम्साल, महेश थापा, काशीनाथ मिश्रित, खगेन्द्र नेउपाने, सुभाषचन्द्र देवकोटा, देवीप्रसाद चापागाईं, रामशरण न्यौपाने, दीनानाथ पोखरेल तथा कार्टुनिष्ट राजेश मानन्धरलाई सम्मानित गरिसकेको छ । संगठनले हालसम्म १५ वटा हास्यव्यंग्य कृतिहरू प्रकाशित गरिसकेको छ ।
समारोहमा राजेश मानन्धरका व्यंग्यपूर्ण कार्टुनहरूको प्रदर्शनी समेत राखिएको थियो । समारोहलाई अनिल पौडेलले सञ्चालन गरेका थिए भने अन्त्यमा नरेन्द्रराज पौडेलले फित्कौलीको हास्यव्यंग्य अभियानलाई सार्थक र प्रशंसनीय ठहर गर्दै कार्यक्रम बिसर्जन गरेका थिए ।







