काठमाडौं । काभ्रे पनौती नगरपालिका–१ नियालो भञ्ज्याङ सिमसारडाँडामा एक पुरुषको कंकाल फेला परेको छ। स्थानीय जनक सापकोटाको पाखोबारीमा रहेको काफलको रुखको फेदमा बिहीबार मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ।
काफलको बोटमा हरियो रंगको पछ्यौरी झुण्डिएको र नजिकै निलो रंगको चप्पल र कालो रंगको ट्रयाकसुट पनि फेला परेको थियो।अनुसन्धानका क्रममा उक्त कंकाल ओखलढुङ्गा जिल्ला मेलुङ गाउँपालिका–८ घर भई हाल काभ्रेको पनौती नगरपालिका–१ मा डेरा गरी बस्ने ३६ वर्षीय फुर्वा तामाङको भएको खुलेको छ।
उनकी श्रीमती डोल्मा शेर्पाले घटनास्थलमा भेटिएको मोबाइल, कपडा लगायतका आधारमा शव आफ्ना पतिको भएको पुष्टि गरेकी हुन्। तामाङ २०८२ भदौ १२ गतेदेखि हराइरहेका थिए। प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ।







