September 22, 2026

मन्त्रीका लागि सिफारिस सुनार विवादमा, थप छलफलमा प्रधानमन्त्री

मन्त्रीका लागि सिफारिस सुनार विवादमा, थप छलफलमा प्रधानमन्त्री

काठमाडौं । सुशीला कार्की नेतृत्वकाे अन्तरिम सरकारमा मन्त्री बन्न सिफारिस भएका खगेन्द्र सुनार विवादमा तानिएका छन्। उनी अदालतकाे मानहानीदेखि ताेडफाेडसम्मका आराेपमा मुद्दा चलिरहेकाे खुलेपछि चाैतर्फी विवादमा तानिएका हुन्।

सुनारविरुद्ध ​तीनवटा अदालतमा मुद्दा चलिरहेको तथ्य खुलेको छ। उनीविरूद्ध सर्वोच्च अदालतसहित सुर्खेत र काभ्रे जिल्ला अदालतमा मुद्दा चलिरहेको खुलेकाे हाे। दलित अभियानता सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सिफारिस गरिएको थियो। उनको अहिले साढे २ बजे शपथग्रहणको कार्यक्रम तय भएको छ।

तर मन्त्रीमा सिफारिस भएसँगै सुनारका विवादित कदमहरू सार्वजनिक भएका हुन्। सुर्खेत जिल्ला अदालतमा उनीविरूद्ध मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटामाथि हातपात र स्वास्थ्य संस्था तोडफोडको मुद्दा छ।

यस्तै काभ्रे जिल्ला अदालतमा उनीविरूद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा छ। मुद्दा दायर गर्ने अधिवक्ता मनीषा गौतमका अनुसार काभ्रे अदालतमा अहिले पनि त्यो मुद्दा विचाराधीन छ।

यसैगरी सुनारले जाजरकोटका नवराज विक हत्या प्रकरणमा सुर्खेत उच्च अदालतको फैसला चित्त नबुझेको भन्दै अदालत बाहिरै हुलहुज्जत र तोडफोड प्रयास गरेका थिए। उनले न्यायाधीशहरूमाथि समेत गालीगलौजपूर्ण अभिव्यक्ति दिए।

त्यसपछि अधिवक्ता गौतमले सुनारविरूद्ध सर्वोच्च अदालतमा पनि मानहानिको मुद्दा हालेकी थिइन्। त्यो मुद्दाको पनि छिनोफानो हुन बाँकी छ।

प्रहरीका अनुसार सुनार विगतमा वैदेशिक रोजगारीको ठगीमा पक्राउसमेत परेर थुनामा बसेका व्यक्ति हुन्। सुनारकाे पृष्ठभूमि कांग्रेस हाे। उनी दैलेखबाट महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित भएका थिए। यसरी सुनारकाे नाम विवादमा तानिएपछि प्रधानमन्त्री कार्की भने थप छलफलमा रहेकाे उनकाे सचिवालयले जनाएकाे छ।

सम्बन्धित खबरहरु

भर्खरै