काठमाडौं । असोज २५ गते शनिबारका दिन विभिन्न समूहले गर्ने भनिएको मोटरसाइकल र्याली, सभा र प्रदर्शनमा जिल्ला प्रशासन काठमाडौंले रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वीकृति विना कुनै पनि र्याली,सभा र प्रदर्शन गर्न नपाइने जानकारी दिएका छन्। नेकपा एमाले निकट युवा संघले शनिबार मोटरसाइकल र्यालीको आयोजना गर्ने घोषणा गरेको छ।
‘फरक फरक समूहहरूले काठमाडौंका विभिन्न स्थानहरूमा मोटरसाइकल र्याली तथा सभा गर्ने भनी सूचना प्राप्त हुन आएको छ। यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्याली,प्रदर्शन,धर्ना ,सभा र प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने निर्णय भएको छ,’ सूचनामा भनिएको छ।
गत भाद्र २३ गतेको जेनजी आन्दोलन पछिका दिनमा भएका तोडफोड,आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिहरूमा क्षति पुगेको स्मरण गर्दै प्रशासनले शान्ति सुरक्षा कायम गर्न यस्तो निर्णय गरेको जनाएको छ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ (क) र प्रहरी ऐन २०१२ को दफा १९ बमोजिम पूर्व: स्वीकृतिबिना कुनै पनि प्रकारका कार्यक्रमहरू नगर्न नगराउन सबैलाई आग्रह गरेको छ।








