काठमाडौं । सरकारले जेन-जी आन्दोलन दमनको घटनामा संलग्न भएको आरोप लागेका पाँच जना उच्च पदस्थ व्यक्तिको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ। जाँचबुझ आयोगको सिफारिसअनुसार उनीहरूको विदेश यात्रामा प्रतिबन्ध लगाइएको हो। साथै, गृह मन्त्रालयको अनुमतिबिना काठमाडौं उपत्यका बाहिर जानसमेत रोक लगाइएको छ।
रोक्का सूचीमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल रहेका छन्।
गत भदौ २३ गते भएको जेन-जी आन्दोलनका क्रममा प्रहरीले घातक हतियार प्रयोग गर्दा १९ जनाको ज्यान गएको थियो। आन्दोलनकारीलाई संघीय संसद भवनतर्फ अघि बढ्न नदिन गृह मन्त्रालयले कडा निर्देशन दिएको र सोही आदेशअनुसार तत्कालीन सीडीओ छवि रिजालले प्रहरीलाई गोली चलाउन आदेश दिएको बताइएको छ।
तर, पूर्वप्रधानमन्त्री ओलीले भने आफूले गोली चलाउन कुनै निर्देशन नदिएको दाबी गरेका छन्। सरकारको निर्णयसँगै जाँचबुझ आयोगले दोषी ठहरिएका व्यक्तिहरूमाथि थप कारबाही प्रक्रियाको तयारी गरिरहेको बताइएको छ।














