काठमाडौं । घटस्थापना पछिका तीन दिनमा १ लाख ३८ हजार २९६ यात्रुले काठमाडौं उपत्यका छाडेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते (घटस्थापना)का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४ र असोज ८ गते ५७ हजार ५५९ यात्रु उपत्यका बाहिरिएका हुन्।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश सुवेदीका अनुसार अध्ययन, रोजगारी, व्यापार व्यवसायका लागि काठमाडौं आएका अधिकांश व्यक्तिहरू दशैं मनाउन घर फर्किन थालेका हुन्। थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट निस्किएका यात्रुको तथ्यांक यसमा समावेश छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वारले वर्षा र पहिरोका कारण राजमार्गमा सवारी साधन आवतजावतमा समस्या भएको बताए। विशेषगरी मुग्लिन–नारायणघाट सडक खण्डमा पहिरोका कारण घण्टौँसम्म गाडी रोकिँदा यात्रुलाई गन्तव्यमा पठाउन ढिलाइ भएको उनले जानकारी दिए।
गोँगबुस्थित नयाँ बसपार्कबाट पनि यात्रुको चाप बढेको छ। बसपार्क सञ्चालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरका अनुसार अहिले दैनिक ५०० बस बाहिरिन थालेका छन्। सामान्य अवस्थामा दैनिक औसत २५० बस मात्रै बाहिरिने गरेको उनले बताए।
यात्रुलाई सहज बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न संघ–संस्थाको सहकार्यमा उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।







