काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँले सामाजिक सञ्जाल बन्दको विरोधमा ‘जेन जी’ नामक आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन्। उनले सोमबार काठमाडौँमा हुने भनिएको आन्दोलनमा मिसिने जनाउँदै सरकारलाई चैत १५ गतेजस्तो दमन नगर्न चेतावनी दिएका छन्।
राजावादी अभियन्ता प्रसाईँले यो आन्दोलन स्वतःस्फूर्त रूपमा भइरहेको भन्दै आफू पनि त्यही अभियानमा उत्रिने बताएका हुन्। उनले तीन वर्षअघि उठाएको आवाजलाई अहिले फेसबुक, टिकटकसहित सम्पूर्ण सञ्चारमाध्यमले पुनः दोहोर्याएको भन्दै आभार प्रकट गरेका छन्।
प्रतिबन्धित फेसबुकमार्फत विचार व्यक्त गर्दै प्रसाईँले वर्तमान नेतामाथि भ्रष्टाचार र विलासी जीवनशैली अपनाएको आरोप लगाए। उनले भने, “२२ रुपियाँको भुक्के चप्पलमा सिंहदरबार छिरेका नेताहरूका छोराछोरी आज करोडौँको घडी, लाखौँको जुत्ता–चस्मा र लाखौँ मूल्यका झोला बोकेर हिंडिरहेका छन्। विदेशसम्म भ्रष्टाचारको सम्पत्ति बगिरहेको प्रमाणसहित आवाज उठाउँदा मलाई जेल धकेलियो।”
उनका अनुसार राजनीतिक दल र सञ्चार जगतले विगतमा हेला गरे पनि अहिले सत्यको पक्षमा जनचेतना जागृत हुँदै गएकोमा आफू खुसी भएको बताए।







