काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा छलफल नहुने बताएका छन्।
शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशन विधि र विधानसँग सम्बन्धित विषयमै सीमित रहने स्पष्ट पारे।
“पार्टीमा कतिपय विषयहरू अनावश्यक रूपमा संवेदनशील बनाइएका छन्। तर, ती कुरा विधान संशोधनसँग सम्बन्धित होइनन्। विधान महाधिवेशनमा ती विषय उठ्दैनन्,” ओलीले भने।
यद्यपि उनले भण्डारीको नाम उल्लेख नगरे पनि यस्ता प्रश्नहरू पार्टीका संरचनागत कमिटीहरूमा मात्रै उठ्ने स्पष्ट पारे। उनका अनुसार सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो वा केन्द्रीय कमिटीमा आवश्यक छलफल हुनेछ।
ओलीले विधान महाधिवेशनलाई विधि–विधान केन्द्रित बनाएर अघि बढाउने भन्दै पार्टीलाई संस्थागत सुदृढीकरणतर्फ ध्यान दिने बताए।













