काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले तामाङ भाषाको पत्रिका ‘याम्बुलिङ’ पहिलोपटक प्रकाशन गरेको छ। मातृभाषाको प्रवर्द्धन गर्ने उद्देश्यसहित राजधानीमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति भूपाल राईले पत्रिकाको लोकार्पण गरे।
लोकार्पण समारोहमा बोल्दै कुलपति राईले नेपालका सबै भाषा नेपाली भाषा भएको उल्लेख गर्दै तामाङ भाषाको प्रवर्द्धनका लागि लेख्य परम्परा कायम होस् भन्ने लक्ष्यले पत्रिका प्रकाशन गरिएको बताए। उनले मातृभाषा जोगाउन प्रतिष्ठानको प्रयास मात्र पर्याप्त नभई समुदायले पनि निरन्तर अभ्यास गर्नुपर्नेमा जोड दिए।
नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ परिषद्का सदस्य तथा मातृभाषा विभाग प्रमुख राजन मुकारुङले ‘याम्बुलिङ’ प्रकाशनसँगै प्रतिष्ठानले हालसम्म आठवटा मातृभाषामा पत्रिका निकालिसकेको जानकारी दिए। साथै, मोरङ र झापा लगायत क्षेत्रमा बोलिने तर लोपोन्मुख अवस्थामा रहेका १० वटा मातृभाषालाई समेटेर साझा पत्रिका चाँडै प्रकाशन हुने जानकारी दिए।
त्यसैगरी प्रतिष्ठानका सदस्य–सचिव डा. धनप्रसाद सुवेदीले बजेट न्युन भए पनि मातृभाषा संरक्षणका लागि हौसला दिन पत्रिका प्रकाशन भइरहेको उल्लेख गरे। कार्यक्रममा ‘याम्बुलिङ’ का कार्यकारी सम्पादक इन्द्र तामाङ र सम्पादक मण्डल सदस्य रचना मोक्तानले पनि आफ्ना धारणा राखेका थिए ।
तामाङ भाषामा प्रकाशित पत्रिका ‘याम्बुलिङ’ ले भाषा र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।







