September 23, 2026

माओवादी केन्द्रप्रति जनताको भरोसा बढ्दो क्रममा : प्रचण्ड

माओवादी केन्द्रप्रति जनताको भरोसा बढ्दो क्रममा : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दै गएको बताएका छन्।

कर्णाली प्रदेशको पूर्ण बैठकलाई भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पछिल्ला विभिन्न निर्वाचन परिणामहरूले यसलाई पुष्टि गरेको बताए। उनका अनुसार, कांग्रेस र एमाले मिल्दा पनि माओवादी केन्द्र निकट उम्मेदवार विजयी हुनु जनविश्वास पुनःस्थापित भएको प्रमाण हो।

स्थानीय तह, स्ववियु, पत्रकार महासंघदेखि हालै सम्पन्न नेपाल पर्वतारोहण संघको निर्वाचनसम्म माओवादी केन्द्र निकट उम्मेदवारहरूको सफलता जनताको विश्वासको प्रतीक भएको उनले उल्लेख गरे। “कांग्रेस, एमाले एकातिर र माओवादी केन्द्र एक्लै भए पनि धेरै स्थानमा हामी विजयी भएका छौँ,” प्रचण्डले भने।

उनले पार्टीप्रति बढ्दो लोकप्रियताले प्रतिक्रियावादी तथा दलाल शक्तिहरू त्रसित भएको दाबी गर्दै पार्टीभित्र गुटबन्दी र अनुशासनहीनता अन्त्य गरेर सुदृढ एकताबद्ध संगठन बनाउन स्थायी समितिले संकल्प गरिसकेको जानकारी दिए।

शिक्षा विधेयकलगायतका राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानले शिक्षक समुदायमा विशेष समर्थन बढेको दाबी गर्दै उनले भने, “कांग्रेस र एमालेको गलत सोचको विरुद्धमा हामीले लिएको अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन्।”

त्यस्तै, वाईसीएल, विद्यार्थी संगठनलगायत जनवर्गीय संगठनलाई श्रम र उत्पादनसँग जोड्ने प्रयास सफल हुँदै गएको उल्लेख गर्दै प्रचण्डले संगठन विस्तारलाई अझ तीव्र बनाउन निर्देशन दिए। उनले घर–घर र टोल–टोलमा संगठन निर्माणलाई मुख्य कार्यका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

बैठकको समापनमा प्रचण्डले कर्णाली प्रदेशका नेताकार्यकर्तालाई संगठन विस्तार र पार्टी एकतामा अग्रसर भई राष्ट्रिय राजनीति परिवर्तनमा भूमिका निर्वाह गर्न आग्रह गरे।

 

सम्बन्धित खबरहरु

भर्खरै